नायक हसनराजा खानको दोस्रो प्रोजेक्ट चलचित्र ‘रोमियो’ अहिले सम्पादन टेवुलमा छ । केही दिन अगाडी मात्र पोखरामा ६ दिन लगाएर ‘बाबरी’ बोलको गीत खिचेर काठमाडौं फर्किएको ‘रोमियो’ निर्माणपक्षले यसको प्रदर्शन मिति तय गरेको छ । एचआरके प्रोडक्शनको ब्यानरमा निर्माण भएको यो चलचित्रलाई आउँदो बर्षको वैशाख महिनामा रिलिज गर्ने तयारी गरिएको छ । निर्माता तथा नायक हसनराजा खानले भने–‘हामीले वि.सं २०७४ सालको बैशाख २९ गते चलचित्र रिलिज गर्ने तय गरेका छौ ।’ वितरकसँग छलफल गरेर यो मिति तय गरिएको उनले बताए । यो मितिमा अहिलेसम्म अरु कुनै चलचित्रले प्रदर्शन मिति फाइनल नगरेका कारण ‘रोमियो’ निर्माणपक्षले बैशाख २९ गते रोजेको हो । प्रेम कथामा तयार भएको यो चलचित्रलाई शंकर कार्कीले निर्देशन गरेका हुन् । चलचित्रमा नीशा अधिकारी, हसनराजा खान, मेलिना मानन्धर, ओसिमा बानु लगायतका कलाकारको मुख्य भूमिका छ । अहिले यो चलचित्रमा समावेश ‘ल्याङ ल्याङ’ बोलको अडियोले युटुबमा धुम पिट्दै गएको छ ।