नायिका नीता ढुंगानाका यो महिनामात्र दुई चलचित्र प्रदर्शनमा आए । चलचित्र ‘तँ म र ऊ’ र ‘पार्सल’ तर यि दुवै चलचित्रले नेपाली बक्सअफिसमा कमाल गर्न सकेनन् । यो त उदारहण मात्र हुन्, नायिका नीताले अभिनयका गरेका चलचित्र कुन-कुन सफल भए भनेर सूची हेर्ने हो भने सायद नीतालाई नै बैराग लाग्दो हो । हुनत, नीताका कारण चलचित्र सफल वा असफल हुने होइन तर नीतालाई लगातार आफु अभिनित चलचित्र असफल हुँदा करियरलाई भने अफ्ठ्यारो पक्कै हुनेछ । तर, अहिले नीताको व्यस्तता हेर्दा लाग्छ उनी नेपालका अन्य नायिकाहरु भन्दा कम व्यस्त छैनन् । केही हप्ता अगाडी मात्र निखिल उप्रेती स्टारर चलचित्र ‘निर्भय’ को छायाँकन सकाएकी नीता अहिले चलचित्र ‘रेस’ को छायाँकनमा व्यस्त छिन् । यो चलचित्रमा उनी नव-नायक विशाल रेग्मीसँग स्क्रिन शेयर गरिरहेकी छिन् । हाल यो चलचित्रको गीतको छायाँकन भइरहेको छ ।
बिहिबार मात्र चलचित्र ‘रेस’ को ‘नजरैमा प्रित बनी बस्यौं तिमी’ गीतको छायाँकन गरिएको छ । गीतमा विशालको अँगालोमा नीता कसिएकी थिइन । गोविन्द राईको कोरियोग्राफी रहेको गीतमा अञ्जु पन्त र दीपराज नियोङहाङको रहेको छ भने संगीत आनन्द राईले दिएका छन् । किशोर सुब्बाको निर्देशनमा तयार भइरहेको चलचित्र ‘रेस’ मा नीता र विशालको अलवा राजेश हमाल, किरण केसी, पुष्पा लिम्बू, सुलेमान शंकर लगायतका कलाकारहरुको अभिनय रहेको छ ।