मानिस सफल हुनका लागि धेरै संधर्ष गर्नु पर्छ । हरेक ५ मिनेटको सफलताको पछाडी १२ घण्टाको कडा मेहेनत हुने गर्छ । सौभाग्य उसैले प्राप्त गर्छ जसले प्राप्त उपलब्धिलाई समाल्न सक्छ । कतिलाई भने जिन्दगीभर सफलताले कहिले छोड्दैन । अझ चलचित्र क्षेत्रमा हेर्ने हो भने कुनै कलाकार सफल भइरह्यो भने उसलाई आफ्नो चलचित्रमा लिनका लागि निर्माताहरुको ठूलै दौडधुप हुन्छ । त्यसको उदारहण हामीले नायक अनमोल केसीको दिँदा मात्र पनि पुग्छ । अहिले उनलाई आफ्नो चलचित्रमा लिनका लागि निर्माताहरु ३० लाखभन्दा बढी पारिश्रमिक दिन पनि तयार छन् तर लिन मान्दैनन् अनमोल । उनको क्रेज र उनलाई सही मार्गनिर्देशन गर्ने पिता भुवन केसी छन् । त्यसैले कोही कसैले अनमोललाई आफ्नो चलचित्रमा लिने न आँट गर्छन न अनमोल नै खेल्न चाहन्छन् ।
अहिले नेपाली चलचित्र बजारमा एक यस्तै विकाऊ नायक बनेका छन् ‘प्रेमगीत’ हिरो प्रदीप खड्का । गएको बर्ष प्रदर्शनमा आएको चलचित्र ‘प्रेमगीत’ ले उनलाई नसोचेकै सफलता दिलाइदियो । हुनत, प्रदीपको यो पहिलो चलचित्र थिइन, उनले यसअघि चलचित्र ‘इस्केप’ मा काम गरेका थिए । तर, यो चलचित्र नेपाली बक्सअफिसमा फल्प हुँदा प्रदीपलार्ई न दर्शकले चिने न निर्माताले नै । तर, पनि लुक्स र अभिनयप्रतिको प्यासनले ‘प्रेमगीत’ निर्माता सन्तोष सेनको रोजाइमा प्रदीप नै परे । नभन्दै दुवैलाई फाइदा भयो । व्यावसायिक रूपमा ‘प्रेमगीत’ ले ठूलै छाल मार्यो । अनि हिट हिरो बन्ने प्रदीपको सपना पनि पूरा भयो । ‘प्रेमगीत’ सफलभएपछि अनमोललाई आफ्नो चलचित्रमा लिनका लागि जसरी निर्माताहरु क्रेजी हुन्थे अहिले प्रदीपमा पनि त्यस्तै देखिएको छ ।
केही महिना अगाडी निर्देशक तुलसी घिमिरेले ‘दर्पणछायाँ–२’ का लागि प्रदीपलाई अफर गरेका थिए । त्यति अनुभवी निर्देशकको आँखामा पर्दा उनी निकै फुरुंग थिए तर उनले ‘दर्पणछायाँ–२’ मा काम गरेनन् । त्यति मात्र कहाँ होर उनलाई आफ्नो चलचित्रमा लिनका लागि नायिका झरना थापाले पनि मरिहत्ते गरेकी थिइन । तर, आफ्नो क्रेज र आफ्ना फ्यानहरुको आश पूरा गर्नका लागि प्रदीप चुजी बने । प्रदीपले झरना थापाको निर्देशनमा तयार भएको चलचित्र ‘ए मेरो हजुर–२’ बाट आएको प्रस्तावलाई पनि अस्वीकार गरे ।
यति मात्र होइन ‘प्रेमगीत’ सफलभएपछि प्रदीपमाथी करोडमाथीको लगानी गर्न तयार निर्माताहरु पनि थिए तर उनले सबै चलचित्रलार्ई अस्वीकार गरे । किन अस्वीकार गरे त प्रदीपले यस्ता चलचित्रका अफरहरु ? किनकी उनी ‘प्रेमगीत’ को सिक्वेलमा काम गर्ने पक्का भइसकेको थियो । सायद प्रदीपको निर्माता सन्तोष सेनसँग यो सम्झौता भइसकेको हुन सक्छ कि ‘प्रेमगीत २’ रिलिज नभएसम्म अरु चलचित्र काम नगर्ने, त्यसैले हुन सक्छ प्रदीपले अरु कनै पनि चलचित्रमा हात हालेनन् । उनलाई सायद यो पनि लागेको हुन सक्छ अब आफ्नो करियर ‘प्रेमगीत’ ले नै बनाउँछ । एउटै ब्यानरमा सिमित भइरहनु र एकै नामको चलचित्रमा मात्रै अल्झिरहनु प्रदीपका लागि कतिको फलदायी हुनेछ । त्यो त समयले लेखाजोखा गर्ने नै छ । तर, प्रशंसकहरुले अन्य चलचित्रमा पनि खोजीरहेको अबस्थालाई बेलैमा प्रदीपले नबुझ्ने हो भने एउटा हिन्दी कहावत छ ‘समयपर समझ नहीँ आती और समझ आनेपर समय निकल जाता हैं’ यस्तै परिस्थितिको सृजना नहोला भन्न सकिन्न ।
‘प्रेमगीत’ मा पुजा शर्मासँग स्क्रिन शेयर गरेका प्रदीप ‘प्रेमगीत २’ मा भने नव-नायिका अश्लेषा ठकुरीसँग रोमान्स गरिरहेका छन् । चलचित्र ‘प्रेमगीत २’ लाई रामशरण पाठकले निर्देशन गर्दैछन् । हाल छायाँकन भइरहेको यो चलचित्र अर्को बर्षको सुरुवातमा प्रदर्शन हुनेछ ।







