केहि दिन अगाडी मात्र नायक सौगात मल्ल र ‘वीर विक्रम’ की नायिका दीया पुन चलचित्र ‘बमकाजी’ का लागि हेलिकप्टर चार्टर गरेर मनास्लु बेसक्याम्प नजिकको हिमाली ठाउँ सामागाउँ पुगेका थिए । यो समाचारहरु मिडियाहरुमा खुबै भाइरल भयो । यो समाचार बाहिर आउँदा कतिले त कतै सौगात दीयासँगको अफयेरमा त छैनन् भन्ने अडकल पनि काटे । यो खबर अझै पनि सेलाइ नसकेको अबस्थामा सौगातलाई भेट्न पौष २९ गते प्रदर्शनमा आउन लागेको चलचित्र ‘शब्द’ की नायिका कमली वाईवा हेलिकप्टर चार्टर गरेर नै सामागाउँ पुगेकी छिन् । ‘बमकाजी’ चलचित्रको छायाँकन चलिरहेको ठाउँमा शब्द अभिनेत्री कमलीले सौगातलाई भेटिनन् मात्र उनलाई लिएर काठमाडौं पनि फर्किइन ।
आखिर किन सौगातलाई लिनका लागि कमलीले हेलिकप्टर नै चार्टर गरिन् त ? तब कमलीले भनिन्, ‘चलचित्र शब्द नेपालसँगै एकसाथ अष्ट्रेलियामा एकसाथ रिलिज हुँदैछ । चलचित्रको प्रदर्शनीमा सहभागी हुन लागेका सौगातको भिषा प्रक्रिया अड्किएको थियो त्यसैले मैले सौगातलाई लिनका लागि हेलि चार्टर गरेर त्यहाँ पुगेकी हुँ ।’ गएको शुक्रबार ‘बमकाजी’ को सेटबाट केहि घण्टाको लागी समय मिलाएर १२ बजे काठमाडौं आएका सौगात त्यसपछि पुनः ३ बजे सामागाउँ फर्केका थिए । कमलीले अष्ट्रेलियाको सिड्नी, ब्रिसबेन, मेल्वर्न लगायतका विभिन्न पाँच शहरमा हुने फिल्मको प्रदर्शनीमा सौगात र आफु सहभागी हुन लागेको बताईन् । सन्तोष शिवाकोटी निर्देशित चलचित्रमा सौगात र कमलीसँगै अनुभव रेग्मी, रोयदिप, ओशिन भट्टराई, ए गुरुङ लिड रोलमा छन् । फिल्ममा विष्णुकुमार थेबे र छिरिङ लामाको लगानी छ ।