झण्डै एक बर्षपछि नायक निखिल उप्रेती स्टारर चलचित्र ‘किङ’ यही महिनाको अन्तिम साता अर्थात पौष २९ गतेबाट देशव्यापी प्रदर्शनमा आउँदैछ । केहि दिन अगाडी सार्वजनिक ट्रेलर नै दर्शकहरुलाई चलचित्र ‘किङ’ प्रति थप उत्सुकता थपिरहेको अबस्थामा निर्माणपक्ष पनि यही मौका छोप्दै अहिले प्रचार प्रसारमा दिलोज्यान दिएर लागी परेको छ । एक्शन प्रधान चलचित्र ‘किङ’ मा लभस्टोरीको स्वाद पनि चाख्न पाइने ट्रेलरबाट नै थाहा हुन्छ ।
यही क्रममा चलचित्रकी नायिका वेनिशा हमालले आफु पहिलो पटक नायक निखिल उप्रेतीसँग स्क्रिन शेयर गर्न पाउँदा निकै खुसी महशुस गरिरहेको बताइन् । चलचित्र ‘किङ’ मा निखिल उप्रेतीको अपोजिटमा देखिएकी वेनिशाले भनिन्, ‘चलचित्र किङ आफैमा एउटा उत्कृष्ट प्रोडक्ट छ । चलचित्रको मेकिङ्गले जो कोहिँलाई लोभ्याउँछ । किङमा प्रेम, द्धन्द्ध, रोमान्स सबै देख्न पाइन्छ ।’ वेनिशाका अनुसार, उनले अहिलेसम्म काम गरेका चलचित्रभन्दा ‘किङ’ फरक छ ।
सविर श्रेष्ठको निर्देशनमा तयार भएको यो चलचित्रमा निखिल, वेनिशासँगै अनुप विक्रम शाही, प्रज्वल सुरज गिरी लगायतका कलाकारहरुको अभिनय गरेको छ । सिनेखबर डटकमसँगको कुराकानीको क्रममा नायक अनुप विक्रम शाहीले चलचित्र ‘किङ’ मा फरक शैलीको एक्शन हेर्न पाउने बताए । उनले भने -‘हामीले चलचित्र किङमा एक्शन र रोमान्सलाई फरक तरिकाबाट प्रस्तुत गरेका छौ । दर्शकहरुलाई किङमा फरक फ्लेवर दिन खोजेका छौ ।’ उनले चलचित्रमा आफु भिलेनको भूमिकामा रहेको पनि खुलाए ।
त्यस्तै चलचित्रका अर्का भिलन अर्थात नायक प्रज्वल सुरज गिरीले चलचित्रमा निखिल उप्रेती भएका कारण पनि चलचित्र ‘किङ’ बाट दर्शकहरु फरक स्वाद चाख्न पाउने बताए ।
काठमाडौं, लुम्बिनी तथा नगरकोट लगायतका दृश्य समावेश चलचित्रमा रोशन श्रेष्ठको द्वन्द्व निर्देशन छ भने दिनेश सुनाम र वसन्त सापकोटाको संगीत छ । चलचित्रका नृत्य निर्देशन रामजी लामिछाने हुन् भने सिनेमाटोग्राफी सञ्जय लामाको छ । जगन श्रेष्ठको प्रस्तुतीमा तयार चलचित्रका निर्माता जयन श्रेष्ठ हुन् ।