पहिलो पटक चलचित्र ‘मंगलम’ बाट निर्मात्री बन्न लागेकी नायिका शिल्पा पोख्रेलले दुई नायकसँग रोमान्स गर्ने भएकी छिन् । माघको पहिलो साताबाट छायाँकन सुरु हुने बताइएको यो चलचित्रका लागि केही दिनदेखी निर्माणपक्ष लिड नायकको खोजीमा थियो । त्यही क्रममा चलचित्र ‘मंगलम’ का कार्यकारी निर्माता छविराज ओझाले ‘दर्पण छायाँ २’ का नायक पुष्पल खड्कालाई लिड नायकमा फाइनल गरेका छन् । पुष्पल खड्का अभिनिय चलचित्र ‘दर्पण छायाँ २’ यही बर्षको फागुनमा प्रदर्शन हुँदैछ । अब पुष्पलले नायिका शिल्पासँग रोमान्स गर्नेछन् । नायिका शिल्पाले पुष्पलसँग दर्जन बढी म्यूजिक भिडियोमा स्क्रिन शेयर गरिसकेकी छिन् । चलचित्रमा पुष्पल र ‘किस्मत २’ का नायक पृथ्वीराज प्रसाइँ लिड नायक रहनेछन् भने लिड नायिकामा शिल्पा हुनेछिन । पुष्पलसँगै चलचित्र मंगलममा मिथिला शर्मा पनि फाइनल भएकी छिन् ।
चलचित्रको कथा गोविन्द फुयालले लेखेका हुन । निर्माता ओझाको तयारी अनुसार ‘मंगलम’ लाई अर्को दशै भित्रमा रिलिज गरिसकिनेछ । नायिका शिल्पालाई रजतपटमा भित्राएका निर्देशक नवल नेपालले मंगलमलाई निर्देशन गर्नेछन् । धार्मिक शास्त्रमा ‘मंगलम’ को अर्थ हुन्छ “सुख, शान्ति, शुभ, राम्रो कुराले सबै भरिपूर्ण होस्” ।