अनमोल केसी स्टारर चलचित्र ‘ड्रीम्स’ बाट नेपाली रजतपटमा भित्रिएकी नायिका साम्राज्ञी राज्य लक्ष्मी शाह त्यसपछि फुर्सद बस्नु परेको छैन । ड्रीम्सबाट यस बर्ष उत्कृष्ट नव-अभिनेत्रीको अवार्ड पनि थाप्दै गरेकी साम्रज्ञीले केही हप्ता अगाडी मात्र दोस्रो प्रोजेक्ट ‘ए मेरो हजुर २’ को छायाँकन सकाएकी थिइन । यस लगत्तै अब उनी तेस्रो प्रोजेक्ट चलचित्र ‘तिमीसँग’ मा व्यस्त हुँदैछिन् । अहिले यो चलचित्रको काठमाडौंमा वर्कशप भइरहेको छ । यसअघि चलचित्र ‘तिमीसँग’ मा साम्राज्ञी र आकाश श्रेष्ठ अनुबन्धित भइसकेका छन् भने हालै निर्माणपक्षले चलचित्रका लागि अर्का लीड नायक फाइनल गरेको छ । शिशिर राणाको निर्माण तथा निर्देशनमा तयार हुन लागेको चलचित्र ‘तिमीसँग’ का लागि कलाकार नाजिर हुसेन फाइनल भएका हुन् । अब, यो चलचित्रमा साम्राज्ञी, नाजिर र आकाश श्रेष्ठले मुख्य भूमिका निर्वाहा गर्ने भएका छन् । त्रिकोणात्मक प्रेम कथामा निर्माण हुने यो चलचित्रको कथावस्तु चित्त बुझेर काम गर्न लागेको नाजिरले बताए । नाजिरले चलचित्र ड्रीम्स हेरेपछि साम्राज्ञीसँग काम गर्न लागेको बताउँदै भने, ‘एउटा राम्रो कलाकारले अर्को राम्रो कलाकार पाउनु भनेको भगवान पाउनु जस्तै हो । यसरी हेर्दा मैले साम्राज्ञीसँग काम गर्दा भगवान पाएको छु ।’ नाजिरलाई मात्र होइन साम्राज्ञीसँग काम गर्न मन लागेको साम्राज्ञी पनि नाजिरको अभिनयको फ्यान रहेछिन् । उनलाई पनि नाजिरसँग काम गर्न धेरै पहिलादेखी मन लागेको थियो रे ! साम्राज्ञीले नाजिरसँग काम गर्दा आफुलाई चुनौती हुने बताएकी छिन् ।
चलचित्र ‘तिमी सँग’ एनआरएन पर्यटक र नेपाली गाइडबिचको रमाइलो प्रेम कथामा आधारित रहेर तयार हुनेछ । सुशिल क्षेत्रीको छायांकन रहने चलचित्रलाई काठमाण्डौं सहित पोखरा, घान्द्रुक, पोन्हिल र अन्नपूर्ण वेसक्याम्पमा खिचिनेछ । चलचित्रमा संगीत राहुल मुमर्जीको रहनेछ ।