केही महिना अगाडी मात्र सिन्धुपाल्चोकको गिरान्चौर एकीकृत बस्तीको निर्माण सकाएका हाँस्य कलाकार सिताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे (सुन्तली) ले तेश्रो एकिकृत बस्ती निर्माण गर्ने घोषणा गरेका छन् । एक भिडियो सार्वजनिक गर्दै उनीहरुले मानवता र सद्भावका लागि सहकार्य गरेर साथ दिन सम्पूर्ण सहयोगी हातहरुलार्य अपील गरेका छन् । भूकम्प पिडितका लागि दुईवटा एकिकृत नमूना बस्ती निर्माण सम्पन्न गरीसकेको धुर्मुस सुन्तली फाउण्डेशनले बर्दिबास २, महोत्तरीमा एकिकृत नमूना मुसहर बस्ती निर्माण गर्ने घोषणा गरेको हो । गएको वर्ष सरसफाईका क्रममा धुर्मुस सुन्तली उक्त बस्तीमा पुगेका थिए । चरम गरिबीको चपेटामा रहेका मुसहर दाउरा बेचेर जिविकोपार्जन गर्दै आएका तराइको पिछडिएको जातिमा पर्छन । शितलहरबाट पिल्सीएका मुसहरको दर्दनाक अवस्था देखेका उनीहरुले गएको वर्ष धुर्मुस सुन्तलीले न्यानो वितरण समेत गरेका थिए । भूकम्प पिडितलाई पहिलो प्राथमिकतामा राख्दै एकिकृत बस्ती निर्माण गरेका उनीहरुले तराईमा मानवता र सद्भावका लागि काम गर्न लागेको बताएका छन् । गाँस, बास र कपासको समेत समस्या रहेको मुसहर बस्तीमा आफुहरु पुगेपछि अहिले निकै परिर्वतन देखा परिसकेकाले ५० परिवार मुसहरलाई उपहारस्वरुप घर प्रदान गर्न लागिएको फाउण्डेशनका अध्यक्ष सिताराम कट्टेलले बताएका छन् ।
४ करोड ७८ लाख लगानीमा निर्माण हुने बस्तीका लागि फाउण्डेशनले गिरान्चौर एकिकृत नमूना बस्ती निर्माणबाट बचेको १ करोड ३ लाख ६६ हजार ३ सय १ रुपैँया मुसहर बस्ती निर्माणका लागि खर्च गर्ने फाउण्डेशनकी कोषाध्यक्ष कुञ्जना घिमिरेले बताएकी छिन् । मानवता र सद्भावका लागि निर्माण गर्न लागिएको बस्ती निर्माणमा अपुग रकम सहयोग गरिदिन सम्पूर्ण सहयोगी मन समक्ष उनले आग्रह गरेकी छिन् ।