बर्षमा जति नेपाली चलचित्र प्रदर्शन र निर्माण हुन्छन् अहिले यो भन्दा बढी त नेपाली फिल्म अवार्डहरु नै हुन थालिसकेका छन् । जसले अवार्ड गर्दा पनि हुने, जसरी गर्दा पनि हुने, जसलाई अवार्ड दिँदा पनि हुने परिपाटीले अहिले अवार्डप्रति नै चलचित्रकर्मीहरुको चासो कम हुँदै गएको छ । चलचित्र विकास बोर्ड बाहेक अन्य निजी कम्पनीहरुले गर्ने अवार्ड मात्र अहिले बर्षमा दर्जन बढी हुने गरेका छन् । अवार्ड हुनु नराम्रो होइन तर जसरी पछिल्लो समय अवार्डको नाममा ‘गरि खाने खेती’ भएको भएको छ त्यसले भने चाहिँ नेपाली अवार्डप्रति नै चलचित्रकर्मी देखी दर्शकहरुको विश्वास गुम्दै गएको छ । नेपाली चलचित्रलाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउनका लागि भन्दै केही निजी कम्पनीहरुले विदेशमा अवार्ड आयोजना समेत गर्दै आइरहेका छन् तर विवादबाट भने अहिलेसम्म कुनै पनि अवार्ड टाढा रहन सकेका छैनन् ।
यस्तै शुक्रबार दुबईमा आयोजना हुन लागेको ‘नवौं नेफ्टा अवार्ड’ पनि अहिले नराम्रोसँग विवादमा तानिएको छ । हुनत, यसअघि आयोजना भएका नेफ्टा अवार्ड विवादमय नभएका होइनन् तर त्यसले फेरी निरन्तरता पाएको छ । प्राप्त खबर अनुसार, अहिले ‘नवौं नेफ्टा अवार्ड’ को तयारी दुबईमा धुम-धमकाको साथ भइरहेको छ । अवार्डको तयारीका लागि नेपालबाट केही प्राविधिकहरु पनि दुबई पुगिसकेका छन् । तर, नेफ्टा आयोजकले जो कलाकार दुबई नजाने भनेर बसेका छन् उनैको नाममा प्रचार साम्रागी बनाएर टिकट बेचिरहेको छ ।
नायक अनमोल केसीलाई दुबई गए ‘अवार्ड’ नै दिने भनेर दिलोज्यान दिएर लागिपरेको नेफ्टाले अन्ततः अनमोलले औपचारिक जानकारी दिएर दुबईमा नजाने बताएपनि अहिले अनमोल केसी दुबई आउने भन्दै व्यापक प्रचार प्रसार भईरहेको छ । नायक अनमोलले चलचित्र ‘कृ’ को आफ्नो लुक्स सार्वजनिक हुने भन्दै नेफ्टा अवार्डमा जान अस्वीकार गरेका थिए तर नेफ्टा आयोजकले अनमोलको ‘नाइँ’ लाई ‘हस्’ सम्झिएर अहिले दुबईमा सयौं टिकट बेचिरहेको छ । नेफ्टा आयोजकले अनमोल केसी र पिता भुवन केसीलाई अवार्डमा सहभागी भईदिनमा लागि आग्रह गरेको थियो तर अनमोल र भुवन दुवैले नेफ्टा अवार्डमा सहभागी हुन नसक्ने भन्दै अवार्डका लागि शुभकामना दिएका थिए ।
त्यति मात्र कहाँ हो र अहिलेका व्यस्त नायक प्रदीप खड्काको नाम भजाउन पनि अवार्ड आयोजक संस्था पछिपरेको छैन । हाल चलचित्र ‘प्रेमगीत २’ ले छायाँकनमा सास फर्ने फुर्सद नपाएका प्रदीपलाई नेफ्टा अवार्डले भने प्रदीप पनि दुबई आउँदैछन् भनेर टिकट बेचिरहेको छ । यस्तै नायिका रेखा थापा, प्रियंका कार्की, आर्यन सिग्देल, सौगात मल्ल, निखिल उप्रेती, केकी अधिकारी लगायतका कलाकारहरु दुबई नजाने भएपनि अहिले उनीहरुको नाम बेच्दै नेफ्टा अवार्डले दुबईमा हजारौं टिकट बेचिसकेको खबर छ ।
प्राप्त जानकारी अनुसार, नेफ्टा अवार्डले चर्चित नायक-नायिका लैजानका लागि ‘अवार्ड’ दिने समेत प्रलोभन देखाएको थियो तर उनै कलाकारहरु अवार्डमा जानका लागि तयार नभएपछि अहिले नेफ्टा आयोजक राम्रै विवादमा फसेको छ ।
जुन कलाकार नेफ्टा अवार्डका लागि दुबई नजाने तयारीमा छन् उनीहरुकै नाम फजाएर टिकट बेच्नु कतिको जायज हो ? अझ अवार्ड कार्यक्रममा सहभागी भईदिए ‘अवार्ड’ नै दिने प्रलोभन देखाएको नेफ्टा अवार्डप्रति दर्शकदेखी चलचित्रकर्मीहरुले भोलीका दिनमा कसरी विश्वास गर्ने कि ‘नेफ्टा अवार्ड’ पारदर्शी हुन्छ ?
चलचित्रक्षेत्रको विकास र चलचित्रकर्मीहरुलाई हौसला स्वरुप प्रदान गरिने अवार्डहरु नै यस्तो अब्यबस्थित हुँदा के नेपाली चलचित्रको अन्तरराष्ट्रिय बजार विस्तारका लागि पहल होला ? जो अवार्डमा सहभागी हुने उनैलाई अवार्ड दिने परिपाटीले के अवार्ड निश्पक्ष होला ? अहिले नेफ्टा अवार्डमाथी पनि यस्तै प्रश्न रामै उठेको छ ।