पुष २८ गते बिहिबारबाट देशव्यापी प्रदर्शनमा आउन लागेको चलचित्र ‘लभ साशा’ को रोमान्टिक गीत रिलिज भएको छ । केकी अधिकारी र कर्मा फिचरीङ गीतमा उनीहरुको प्रेम र विछोडलाई देखाउन खोजिएको छ । गीतमा कतै केकी र कर्माको प्रेम देखाइएको छ भने कतै उनीहरु एकअर्काको सम्झनामा तड्पिरहेको देख्न सकिन्छ । ‘बरी लै’ बोलको गीतमा शब्द र संगीत जेसन कुवँरको रहेको छ भने जेसनसंगै मिना सिंहको स्वर रहेको छ । पोखरा आसपासमा खिचिएको चलचित्र ‘लभ साशा’ को ‘बरी लै’ गीतबाट नै सजिलै अनुमान लगाउन सकिन्छ कि चलचित्रको मेकिङमा निर्माणपक्षले राम्रै खर्च गरेको छ । कर्मा, केकी अधिकारी, शिवानी चालिसे, विकास जोशी, रश्मी भट्ट र आसिफ शाहको मुख्य भूमिका रहेको चलचित्र ‘लभ साशा’ लाई प्रचण्डमान श्रेष्ठले निर्देशन गरेका हुन् भने चलचित्रको कथा उनी आफैले लेखेका हुन । ‘साशा’ नामकी केकी र ‘पर्ल’ नामका कर्माको भगाईको यात्रालाई चलचित्रमा देखाइएको छ । पपकर्न पिक्चर्सद्धारा प्रस्तुत र प्रिन्सेस मुभिज र द.टि फोक्स फिल्मसको निर्माण रहेको चलचित्र ‘लभ साशा’ लाई माधव वाग्लेलले निर्माण गरेका हुन । चलचित्र ‘लभ साशा’ मित्रता, प्रेम, दया, स्नेह र जीवन दर्शनजस्ता विभिन्न भोगाईहरुको मिश्रण रहेको निर्माणपक्षले बताएको छ । शिवराम श्रेष्ठको छायाँकन रहेको चलचित्र लभ साशामा लोकेश बज्राचार्यको सम्पादन छ ।