गएको शुक्रबार दुबईमा सम्पन्न ‘नवौं नेफ्टा अवार्ड’ को विवाद अझ चुलिदै गएको छ । दुबई नजाने कलाकारहरुको नाम भजाएर टिकट बेचेको खबरदेखी अवार्ड वितरणमा मनोमानीको घट्नाले राम्रै विवादमा तानिएको ‘नेफ्टा अवार्ड’ लाई लिएर अहिले कार्यसमिति भित्रै चर्को रुपमा असन्तुष्टिको आवाज उठ्न थालेको छ ।
विवादै-विवादका बीच अवार्ड वितरण भएपछि नेफ्टा कार्यसमितिका महा-सचिव सुरज आचार्यले आफ्नो पदबाट सोमबार राजीनामा दिएका छन् । उनले नेफ्टा अवार्डमा देखिएको विवादले आफु पदमा रहिरहनु उचित नभएको भन्दै राजीनामा दिएको स्रोतले बताएको छ । उनको राजीनामा पत्रमा लेखिएको छ, ‘नवौ नेफ्टा अवार्डमा भएको मनोमानीका कारण संघको गरिमामा नै कालो धब्बा लागेको छ । जसकारण, संघको महासचिव पदमा बसिरहन मलाई नैतिकताले दिएन । यसैले, नैतिकताको आधारमा राजीनामा दिएको छु ।’ उनले महा-सचिव पदबाट राजीनामा दिएपनि साधारण सदस्य लिएर प्राविधिकहरुको हकहितका लागि सधै काम गर्ने बताएका छन् । उनले सोमबार नै आफ्नो राजीनामा पत्र नेफ्टा कार्यालयमा बुझाइसकेका छन् ।‘नेफ्टा अवार्ड’ दुबईमा वितरण हुनु अगावै विवादमा मुछिएपछि नेफ्टा उपाध्यक्ष अरुण रेग्मी त दुबई नै गएनन् । ‘सिनेखबर’ लाई प्राप्त जानकारी अनुसार, उपाध्यक्ष रेग्मी पनि आफ्नो पदबाट राजीनामा दिने तयारीमा छन् । यसअघि नेफ्टाका नव-निर्वाचित सचिव शंकर पाण्डेले पनि राजीनामा दिइसकेका छन् । यहाँबाटै थाहा हुन्छ नेफ्टा कार्यसमिति भित्रै अवार्डलाई लिएर कति असन्तुष्टि छ ।
केही विधामा बाढिएको ‘नेफ्टा अवार्ड’ लाई लिएरपनि कार्यसमिति भित्रबाटै अहिले चर्को विरोध भइरहेको छ । उत्कृष्ट निर्देशकको अवार्ड ‘वडा नं. ६’ का निर्देशक उज्जवल घिमिरेलाई दिएर उत्कृष्ट चलचित्रको अवार्ड ‘पशुपतिप्रसाद’ लाई दिएपछि निर्देशक दीपेन्द्र के. खनालले दुबईमा नै ‘नवौं नेफ्टा अवार्ड’ बहिस्कार गरेका थिए । दीपेन्द्र चाँडै उत्कृष्ट चलचित्रको अवार्ड नेफ्टा कार्यालयमै गएर बुझाउने तयारीमा छन् । त्यस्तै चलचित्र विकास बोर्डका अध्यक्ष राजकुमार राईले पनि ‘नवौं नेफ्टा अवार्ड’ दुबईमा आयोजना हुने अघिल्लो दिननै बहिस्कार गरिसकेका थिए । अवार्डलाई लिएर कार्यसमिति भित्रैबाट चर्को विरोध हुन थालेपछि अहिले चलचित्र प्राविधिक संघका अध्यक्ष पुष्कर लामाको कुर्सी खतरामा देखिएको छ ।