झण्डै ५ बर्ष ब्रेक लिएर नेपाली चलचित्रमा फर्किएका नायक निखिल उप्रेतीको कमब्याक चलचित्र ‘भैरव’ ले नेपाली बजारमा गज्जबकै तहल्का पिट्यो । बर्षौदेखी निखिलको एक्शन हेर्न तड्पिरहेका दर्शकहरुले ‘भैरव’ लाई सोचे जस्तै साथ दिए । त्यसपछि ‘भैरव’ प्रदर्शनमा आएको लगभग ६ महिनापछि हलमा लाग्यो उनको अर्को चलचित्र ‘लुटेरा’ । यसले पनि नेपाली बजार राम्रै ततायो र निर्माताको खल्ती पनि भर्यो । कमब्याक चलचित्र ‘भैरव’ लिएर आउनु अगाडी निखिललाई आफ्नो चलचित्रमा लिनका लागि निर्माताहरु डराइरहेका थिए । कारण, बजारमा यस्तो हल्ला चलेको थियो कि अब निखिलको स्टारडम गतिलो छैन र निर्माताहरु उनलाई लिएर जोखिम मोल्न चाहँदैनन् । तर, जसरी कमब्याक चलचित्र भैरव र लुटेराले नेपाली सिनेबजारमा धुम मच्चायो त्यसपछि त निर्माताहरुको लाइन नै लाग्यो निखिललाई आफ्नो चलचित्रमा लिनका लागि ।
‘भैरव’ र ‘लुटेरा’ प्रदर्शनमा आएपछि उनले अभिनय गरेका अन्य चलचित्र प्रदर्शनमा आएका छैनन् । यो दौरानमा उनले तीनभन्दा बढी चलचित्रमा काम गरे, जस मध्ये चलचित्र ‘किङ’ ले भने यही महिनाको अन्तिम हप्ता अर्थात पुष २८ गतेबाट प्रदर्शन आरम्भ गर्दैछ । केही दिन अगाडी सार्वजनिक चलचित्र ‘किङ’ को ट्रेलरले दर्शकहरुलाई चलचित्रप्रति राम्रै कौतुहल्ता निम्ताएको छ तर हेर्न बाँकी यो छ कि झण्डै एक बर्षपछि प्रदर्शनमा आउन लागेको निखिल उप्रेतीको ‘किङ’ ले बजारमा कस्तो धुम मच्चाउन सक्ला ? यो त अब पुष २८ पछि नै थाहा हुनेछ ।
यो चलचित्रमा निखिलका अलवा वेनिशा हमाल, अनुप विक्रम शाही, प्रज्वल सुरज गिरी लगायतका कलाकारहरुको मुख्य भूमिका रहेको छ । काठमाडौं, लुम्बिनी तथा नगरकोट लगायतका दृश्य समावेश चलचित्रमा रोशन श्रेष्ठको द्वन्द्व निर्देशन छ भने दिनेश सुनाम र वसन्त सापकोटाको संगीत छ । चलचित्रका नृत्य निर्देशन रामजी लामिछाने हुन् भने सिनेमाटोग्राफी सञ्जय लामाको छ । जगन श्रेष्ठको प्रस्तुतीमा तयार चलचित्रका निर्माता जयन श्रेष्ठ हुन् । यो चलचित्रलाई सविर श्रेष्ठले निर्देशन गरेका हुन ।