गएको शुक्रबार साँझ दुबईमा सम्पन्न ‘नवौं नेफ्टा अवार्ड’ अहिले विभिन्न कारणले विवादमा छ । दुबईमा रहेका नेपाली दर्शकहरुलाई तान्न नजाने कलाकारहरुको समेत नाम भजाएर टिकट बेचेको खबरदेखी सुरु भएको विवाद अवार्ड वितरणमा मनोमानीको घट्नासम्मले खुबै तात्यो । त्यति मात्र होइन केही चलचित्रकर्मीहरुले नेफ्टा अवार्ड बहिस्कार समेत गरे । गएको बर्ष प्रदर्शनमा आएको चलचित्र वडा नं. ६ का निर्देशक उज्वल घिमिरेलाई उत्कृष्ट निर्देशकको अवार्ड र उत्कृष्ट चलचित्रको अवार्ड पशुपतिप्रसादलाई दिएपछि निर्देशक दीपेन्द्र के. खनालले दुबईमा नै नेफ्टा अवार्ड बहिस्कार गरेका थिए । उनले आधारहीन अवार्ड थाप्न ठिक नहुने भन्दै स्टेज नचढेपछि उक्त अवार्ड हास्यकलाकार दीपकराज गिरीले स्टेज चढेरै समातेका थिए । फाइल तस्बिर
दीपेन्द्रले उक्त अवार्ड दीपकराज गिरीले दिँदा पनि लिएनन् । खबरका अनुसार त्यस बखत उनले कार्यक्रमस्थलमै उत्कृष्ट चलचित्रको अवार्ड छोडेर बाहिरिएका थिए । उनले नेपाल आए लगत्तै उक्त अवार्ड नेफ्टा कार्यालयमा बुझाउने बताएका थिए र सोही बमोजिम उनले उक्त अवार्ड नेफ्टा कार्यालयमा फिर्ता पठाएका छन् । खबरका अनुसार, उनले वुधबार बिहान चलचित्र पशुपतिप्रसादले पाएको उत्कृष्ट चलचित्रको अवार्ड फिर्ता गरेका छन् । योसँगै नेफ्टा अवार्डको विवादले झन चरम रुप लिएको छ । केही दिन अगाडी मात्र नवौं नेफ्टा अवार्डको विवाद चरम उत्कर्षमा पुगेपछि नेपाल प्राविधिक संघका महा-सचिव सुरज आचार्यले राजीनामा समेत दिएका थिए ।