हिजो आइतबार नेपालमा टोपी दिवस मनाइयो । नेपालमा मात्रै होइन विदेशमा रहेका नेपालीहरुले समेत टोपी दिवसको अवसर पारेर शिरमा टोपी ढल्काए । कतिले फेसबुकमा फोटो हाल्नकै लागि पनि शिरमा टोपी ढल्काएर फेसबुकको भित्ता भरे भने कतिले ‘टोपी हाम्रो शान हो’ भन्दै सडकमा नारा पनि धन्काए । आइतबार जता त्यतै टोपी दिवसको चर्चा हुँदा नयाँ शक्ति पार्टी, नेपालका अध्यक्ष डा.बाबुराम भट्टराईले भने ट्विटरमा एक स्टाटस लेख्दै टोपी दिवसलाई व्याङग्य गरे । उनले लेखेका थिए -‘टोपी दिवस रे । अब बख्खु दिवस । धोती दिवस ।…संविधान र राष्ट्रगानमा समेत बहुजाती र बहुसाँस्कृति स्वीकारिसकेको देशमा एकल साँस्कृतिकका कुरा कति जायज ?’
उनले ट्विटरमा लेखेको यो स्टाटसपछि अहिले उनको विरोध सामाजिक सञ्जालमा व्यापक भइरहेको छ । प्रधानमन्त्री रहँदा प्राय नेपाली टोपीमै ढल्केर हिँड्ने बाबुरामको उक्त स्टाटसलाई व्याङग्य गर्दै हास्यकलाकार दीपकराज गिरीले समेत आफ्नो फेसबुकमा स्टाटस लेखेका छन् । ‘बिहानै टोपी लगाएको फोटो हालेको, बाबुरामजीले देखी सहेनन् । कमरेड…टोपीको दिबस मनाउँदा धोतीलार्इ किन समस्या ?, भोलि धोती दिबस भयो भने टोपीवालालाई के समस्या ?, दशै मात्र मनाउने हामी अहिले लोसार, इद, क्रिसमस सबै मनाउँछौ । यसो गर्दा झन सहिष्णुता बढ्छ होइन र ?
रामबरणजीले टोपी लगाउँदा उहाँलाइ सुहाएको थिएन र ? तपाइ धोती लगाउन तराइ पनि झर्नु भो…त्यो ग़लत थियो र ? हामीले टोपी लगाउँदा पनि श्रीपेच नै लगाएको जस्तो नगर्नुस न है ?’ उनले फेसबुकमा लेखेका छन् ।