केही दिनदेखी नेपालमा मात्र होइन भारतमा पनि नेपालकी एक मोडलको नाम निकै चर्चामा छ । ति यूवती हुन अञ्जली लामा । नुवाकोटको काउले गाउँमा नवीनकुमार वाइबाको जीवनको दुई दशक विताएकी उनलाई अहिले विश्वले नै अञ्जली लामा नामले चिन्ने गर्छ । एलसी पास भएर काठमाडौंको त्रिचन्द्र कलेज पढ्न आएपछि उनको रूपान्तरण नवीनबाट अञ्जली लामाका रूपमा भयो ।
नामले केटा भएपनि उनी सानैदेखी आफु केटी जस्तो भएको महशुस गर्थिन । उनलाई सानैदेखी बहिनीले लगाउने लुगा, शरिरमा तावेल बेर्न मन लाग्थ्यो । जब उनी अध्ययनको शिलशिलामा काठमाडौं आइन अनि उनको जीवनको दोस्रो अध्याय सुरु भयो । ‘सेक्स चेन्ज अपरेशन’ पछि उनले आफुलाई अञ्जली लामाको रुपमा चनाउन थालिन ।
केही समय अगाडी उनको जीवनमा आधारित भएर निर्माण भएको सर्ट फिल्म ‘अञ्जली’ को प्रिमियरमा उनले भनेकी थिइन, ‘मैले आफू को हुँ भन्ने पत्ता लाउन दुई दशक कुर्नुपर्यो । जब मैले फरक लिंगीय व्यवहार गर्नेहरूको पनि संस्था छ भन्ने थाहा पाएँ त्यसपछि म आफैं ब्लु डाइमन्ड सोसाइटीको अफिस खोज्दै हिँडे । मैले त्यो अफिस र त्यसले गर्ने अभियान मात्रै पत्ता लगाइन सबभन्दा ठूलो कुरा त म को हुँ भन्ने प्रश्नको उत्तर पाएँ । त्यसपछि मैले आफ्नो नाम बदलें ।’
नाम बदल्नु मात्रै उनको सम्पूर्ण पहिचानको प्राप्ति थिएन । त्यसपछि जब उनी अञ्जलीको पहिचानमा घर पुगिन्, चार दाजुभाइमध्ये तीन जना पूरै विरोधमा उभिए । आमा बितिसकेकी थिइन्, बुबा र काकाहरू पनि एकदमै रिसाए । उक्त फिल्म ‘अञ्जली’ मा उनका बुबाले भनेका छन्, ‘छोरी भएपछि अब अंश खोज्न पनि आउनु पर्दैन र म मरे भनेपनि हेर्न आउनु पर्दैन ।’ परिवारको साथ नभएपनि उनले आफ्नो जीवनदेखी भने कहिले हरेस खाइनन् । अञ्जलीले आफ्नो नाम मात्रै बदलिनन्, अञ्जलीकै नामबाट उनी तेस्रोलिंगी मोडलका रूपमा स्थापित भइन्, सहरका स्टेजहरूमा तेस्रोलिंगीको पहिचानसहित क्याटवाक गरिन् । अहिले उनको चर्चा नेपालसँग छिमेकी मुलुक भारतमा पनि उतिक्कै छ । भारतमा हुन लागेको ‘लेक्मे फेशन वीक २०१७’ मा अञ्जली केही हप्ता अगाडी मात्रै र्याम्पवर्क गर्नका लागि सेलेक्ट भएकी छिन् । यो खबर अहिले भारतीय मिडियाहरुमा चौतर्फी फैलिरहेको छ । अधिकांश भारतीय मिडियाहरुले नेपालकी अञ्जलीले विश्वमा नै आफ्नो पहिचान बनाउँदैछिन् देखी ‘लेक्मे फेशन वीक’ मा पहिलो पटक नेपाली मोडलले र्याम्पवर्क गर्न लागेको भन्दै समाचारहरु प्रकाशन गरेका छन् । लामाले ‘लेक्मे फेशन वीक’ का लागि १४ दिसम्बरमा अडिसन दिएकी थिइन । ‘लेक्मे फेशन वीक २०१७’ फरवरी १ देखी ५ फरवरीसम्म चल्नेछ । अन्जली ‘लेक्मे फेशन वीक’ मा गएर नेपालको पहिलो ट्रान्सजेडर मोडल बन्नेछिन् जसका लागि उनले भारतमा र्याम्प वर्क गर्नेछिन् ।