एनसेल नम्बरमा रातो नम्बरको फोन आएको अफवाह फैलाउने गायिका प्राशना पाण्डे र गायक दीपक बराईलीलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोलीले पक्राउ गरेको छ । मोबाइल प्रयोगकर्तालाई रातो नम्बरबाट फोन आउने र त्यसले स्वास्थ्यमा गम्भीर जोखिम हुने भन्दै फेसबुक र ट्वीटरमा प्रचार गर्ने उनीहरुलाई प्रहरीले पक्राउ गरि वुधबार पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरेको हो । आफ्नो मोबाइलमा रातो नम्बरबाट फोन आएको भन्दै गायिका प्राशना पाण्डेले फेसबुकमा स्टाटस लेखेकी थिइन र मिडियामा पनि त्यही खबर दिएकी थिइन । फेसबुक र अनलाइन मिडियामा गायिका पाण्डेले रातो नम्बरबाट फोन आएमा खतरा हुने हल्ला चलाएपछि प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी) ले उनीमाथि अनुसन्धान थालेको थियो। रातो नम्बरबाट दुर्घटना भएको र मानिसको समेत मृत्यु भएको समाचार फैलिएको छ। तर, यसरी फैलाइएका हल्ला पूर्णरुपमा गलत र भ्रामक मात्र रहेको भन्दै दुरसञ्चार क्षेत्रको नियामक नेपाल दुरसञ्चार प्राधिकरणले खण्डन गरिसकेको थियो। त्यस्तै प्रहरीले सोधपुछका क्रममा गायक दीपक बराइली पनि तानिएका थिए र उनी पनि पक्राउ परेका छन् । सीआईबीका प्रहरी उपरीक्षक मिरा चौधरीका अनुसारका अनुसार दीपकले एक एप प्रयोग गरेर आफ्नो मोबाइलमा स्क्रीन सट गरेर राखेका थिए । गायिका पाण्डेको ‘गाजलु आँखा मेरा देखेर भुतुक्कै’ बोलको गीत निकै चर्चित छ ।