बलीउड तथा हलीउड अभिनेत्री प्रियंका चोपडाले नेपाली चलचित्र निर्माण गर्न लागेको खबर केही दिनदेखी नेपाली मिडियाहरुमा मात्र होइन भारतीय मिडियाहरुमा पनि छ्याप्प-छ्याप्ती छ । प्रियंकाले आफ्नै होम प्रोडक्शन पर्पल पेबलबाट सिक्किम बेस्ड नेपाली चलचित्र निर्माण गर्न लागेकी हुन । अहिले यो कम्पनी उनकी आमा मधु चोपडाले सम्हालिरहेकी छिन् । प्रियंकाले निर्माण गर्ने नेपाली चलचित्रको नाम ‘पउवा’ राखिएको छ, जसको नेपाली अर्थ हुन्छ ‘पाहुना’ । चलचित्रमा सम्पूर्ण नेपाली कलाकारहरु नै रहने बताइएको छ तर हालसम्म नेपालका कुन-कुन कलाकारहरुले उक्त चलचित्रमा काम गर्दैछन् त्यो भने फाइनल भएको छैन । ‘सिनेखबर डटकम’ लाई प्राप्त जानकारी अनुसार चलचित्र ‘पाहुना’ मा नेपाली कलाकार सुनिल थापा फाइनल भइसकेका छन् । चलचित्र ‘पाहुना’ मा सुनिल थापाले खलनायकको भूमिकामा निर्वाहा गर्नेछन् । यसअघि बलीउड चलचित्र ‘मेरी कोम’ मा एकसाथ काम गरेका सुनिल र प्रियंकाको त्यहि चलचित्रबाट सुमधुर सम्बन्ध रहेको थियो । स्रोतका अनुसार, सुनिल थापाकै सहयोगमा प्रियंकाले नेपाली चलचित्र निर्माण गर्न लागेकी हुन । यो चलचित्रको विषयमा २०१६, डिसेम्बर २८ मा प्रियंकाकी आमाले भारतीय मिडियामा नेपाली चलचित्र निर्माण गर्न लागेको बताएकी थिइन । हुनत, यसअघि पनि प्रियंकाले आफ्नो होम प्रोडक्शनबाट मराठी चलचित्र ‘भेन्टिलेटर’, भोजपूरी चलचित्र ‘बम बम बोल हा है’ निर्माण गरिसकेकी छिन् । त्यस्तै उनले पंजाबी चलचित्र ‘श्रावण’ निर्माण पनि गरिसकेकी छिन् । जुन रिलिजको तयारीमा छ ।