फागुन १३ गतेबाट देशव्यापी प्रदर्शनमा आउन लागेको चलचित्र ‘लुट २’ मा समाबेश ‘ठमेल बजार’ बोलको आइटम गीतमा निर्देशक निश्चल बस्नेतले मोडल एलिसा राईसँग नृत्य गरेको त हेर्नु भएको नै छ होला । यो गीत हेरेपछि निर्देशक बस्नेत चलचित्र निर्देशनमा मात्र होइन नृत्यमा पनि उतिक्कै अब्बल छन् भन्ने पृष्टि गरेको थियो । ‘ठमेल बजार’ बोलको गीतमा निश्चलको नृत्य हेरेका दर्शकहरुले अब चाँडै ‘पर्व’ नामक चलचित्रको एक आइटम गीतमा पनि हट नायिका माला लिम्बुसँग कम्मर मर्काएको देख्न पाइने भएको छ । शुक्रबार मात्र चलचित्र ‘पर्व’ मा समाबेश ‘काले काले’ बोलको गीत खिचिएको थियो, जसमा निर्देशक निश्चल बस्नेतलले माला लिम्बुसँग कम्मर मर्काएका छन् ।
माला चलचित्रको मुख्य भूमिकामा छिन् भने निश्चललाई दर्शकले यहि आइटम गीतमा मात्र देख्न सक्नेछन् । ‘काले काले’ बोलको आइटम गीतमा निश्चलले मालासँग नृत्य गर्नुको कारण यो पनि होकी उनी आफैैले यो गीतमा आवाज दिएका छन् । ‘काले काले’ बोलको यो गीतमा निश्चल बस्नेत र मिना निरौलाको स्वर, दिनेश राउतको शब्द, कोशिश क्षेत्रीको संगीत छ ।
ललितपुर च्यासल खेल मैदानको पछाडि सेट लगाएर यो गीतको छायांकन भैरहेको छ । कविराज गहतराजको कोरियोग्राफी रहेको गीतलाई राजेश श्रेष्ठले खिचिरहेका छन् । राजु पेन्टरले यो भव्य सेट तयार पारेका हुन् । आइतबारसम्म यो गीतको छायांकन हुनेछ । चलचित्रलाई दिनेश राउतले निर्देशन गर्नेछन् ।
चैत्र २५ गते यो चलचित्र रिलिज हुनेछ । चलचित्रको यो गीतलाई चाडै नै दर्शकमाझ सार्वजनिक गरिनेछ । सुवास गिरी र निकिता पौडेलको लगानीमा आजबाट छायांकन सुरु भएको यो चलचित्रलाई ३५ दिन लगाएर खिचिनेछ । चलचित्रमा नायिका नम्रता श्रेष्ठ र नायक तथा गायक कोशिश क्षेत्रीको मुख्य भूमिका छ ।