भारतको जिटिभीले आयोजना गरेको डान्स इण्डिया डान्स (डिआइडी) लिटिल मास्टर्स-२०१४ मा एकलाख बढी प्रतिस्पर्धीलाई पछि पार्दै उपाधि जितेकी नेपाल रुपन्देहीकी चर्चित डान्सर तेरिया मगर फेरी अर्को भारतीय टेलिभिजन च्यानल कर्लसबाट प्रशारण हुँदै आएको ‘झलक दिखला जा’ सिजन ९ को उपाधि नजिक पुगेकी छिन् । डीआईडीमा ४० हजार प्रतिस्पर्धीलाई पछाडि पारेकी उनी अहिले ‘झलक दिखला जा’ को फाइनल राउन्डमा पुगेकी हुन् । तेरियाले फाइनलमा डिआइडी सिजन १ एवं ‘झलक दिखला जा’ कै पूर्वविजेता सलमान युसुफ खान तथा वल्र्ड हिपहप च्याम्पियनसिपिका विजेता सानतनु महेश्वरीसँग उपाधिका लागि प्रतिष्पर्धा गर्नेुपर्नेछ । उपाधिका दाबेदार सलमान युसुफ खानले आफ्नो प्रतिस्पर्धी तेरिया मात्र रहेको र आफूलाई उनकै मात्र डर लाग्ने पनि बताइसकेका छन् । तेरिया ‘डिआईडी लिटिल मास्टर्स २०१४’ की विजेता भएकाले ‘झलक दिखला जा’ मा प्रवेश पाएकी हुन् ।
उपाधिको नतिजाका लागि आगामी जनवरी १४ तारिखदेखि २१ तारिखसम्म एसएमएस र अनलाइन भोटिङ खुल्ला हुँदैछ । यही क्रममा तेरिया फाउन्डेसनका अध्यक्ष एवं तेरियाका पिता कृष्ण फौजा मगरले आफ्नो खुबीले सिनियर हस्तीलाई पछाडि पारेकी तेरियालाई भोटमार्फत अगाडि जान सहयोग गर्न आग्रह गरेका छन् ।
तेरियालाई भोट गर्नका लागि इन्डियामा हुनेहरुले SMS बाट TER type गरि 56882 मा पठाउन सक्नेछन् भने संसारको कुनैपनि ठाँउबाट अनलाइन मार्फत www.colorstv.com/jhalak मा गएर पनि भोट गर्न सक्नेछन् । ब्रिटिस ब्रोडकास्टिङ कर्पोरेसनले सञ्चालन गर्ने यो प्रतियोगिता विजेताले नगद भारु. ३० लाख तथा रेनाल्ट डस्टर ब्राण्डको कार प्राप्त गर्नेछन् । यो प्रतियोगितामा करण जोहर, फराह खान, ज्याकलिन फर्नान्डिज र गणेश हेज निर्णायक छन् । तेरियाका डान्स कोरियोग्राफर ऋषिकेश हुन् भने डान्स पार्टनर आर्यन हुन् ।