‘लज्जा’ चलचित्रबाट नेपाली रजतपटमा भित्रिएकी नायिका शिल्पा पोख्रेलले पहिलो पटक चलचित्र निर्माणमा हात हालेकी छिन् । चाँडै निर्माता छविराज ओझासँग विवाह गर्ने तयारीमा समेत रहेकी शिल्पाले चलचित्र ‘मंगलम’ निर्माण गर्न लागेकी हुन । उनलाई निर्माता छविराज ओझाले लगानीमा सहयोग गर्नेछन् । आज सोमबार चलचित्र ‘मंगलम’ को शुभ साइत गरिएको थियो । राजधानीको मैतिदेवी मन्दिर र कमलादी स्थित गणेश मन्दिरमा स्कृप्ट र क्ल्याप पूजा गरि निर्माणपक्षले शुभ साइत गरेको हो । माघ ७ गतेबाट फ्लोरमा जान लागेको चलचित्र ‘मंगलम’ मा पृथ्वीराज प्रसाईँ, पुष्पल खड्का, मिथिला शर्मा लगायतका कलाकारहरुको मुख्य भूमिका रहनेछ । नायिका शिल्पालाई पहिलो पटक ठूलो पर्दामा ईन्ट्री गराएका निर्देशक नवल नेपालले यो चलचित्र निर्देशन गर्दैछन् । शिल्पाले दर्जन बढी म्यूजिक भिडियोमा नायक पुष्पल खड्कासँग काम गरिसकेकी छिन् भने नायक पृथ्वीराज प्रसाईसँग यसै बर्ष प्रदर्शनमा आएको चलचित्र ‘किस्मत २’ मा स्क्रिन शेयर गरेकी थिइन । निर्माता ओझाको तयारी अनुसार ‘मंगलम’ लाई अर्को दशै भित्रमा रिलिज गरिसकिनेछ । धार्मिक शास्त्रमा ‘मंगलम’ को अर्थ हुन्छ “सुख, शान्ति, शुभ, राम्रो कुराले सबै भरिपूर्ण होस्” ।