पुष १९ गते मंगलबार राष्ट्रिय नाचघरमा नाटक अभिनय गर्दागर्दै निधन भएका वरिष्ठ रङ्गकर्मी तथा कलाकार विष्णुभक्त फुयाँलको शालिक निर्माण गर्न माग गरिएको छ। कुसुम नाट्य समूहले राष्ट्रिय नाचघरमा शालिक निर्माण गर्न माग गरेको हो । शालिक निर्माण स्वरुप उनको स्मृतिमा रु. पाँच हजार राशिको पुरस्कार स्थापनाको निर्णय गरेको छ । राससको समाचारका अनुसार, समूहले उनको नाममा नाट्यशालाको नामकरण गरी संस्थानकै हाताभित्र फुयाँलको अर्धकदको सालिक निर्माण गर्न सांस्कृतिक संस्थानसँग माग गरेको हो। फुयाँल कुसुम नाट्य समूहका अध्यक्ष समेत थिए । समूहका संस्थापक अध्यक्ष वैकुण्ठ भण्डारीले नाटक लेखक, निर्देशक, रङ्गकर्मी, रङ्ग पत्रकारका रुपमा दुई दशकदेखि योगदान पु¥याउँदै आएका व्यक्तित्वलाई नगद रु. पाँच हजार र ताम्रपत्रसहित विष्णुभक्त फुयाँल स्मृति रङ्गकर्म पुरस्कार प्रदान गरिने जानकारी दिए।
लामो समयदेखी अभिनय, निर्देशन र लेखनमा सक्रिय विष्णुभक्त फुयाँलद्धारा लिखित वाध्यता, शहिदको सपना लगायतका आधा दर्जन बढी पुस्तकहरु पनि प्रकाशन छन् । हास्यकलाकार दीपकराज गिरी निर्देशित टेलिश्रृखला ‘तीतो सत्य’ मा ‘ओ माई लभ’ भन्दै बालबालिकादेखी पाका उमेरसम्मका दर्शकहरुको मन जितेका विष्णुभक्त फुयाँल झण्डै ४ दशकदेखी अभिनयक्षेत्रमा सक्रिय थिए । ५ सय भन्दा बढी नाटक, १ सयभन्दा बढी टेलिसिरियलसँगै दर्जनौं चलचित्रमा अभिनय गरिसकेका उनले ‘देवकी’ चलचित्रबाट ठूलो पर्दामा प्रवेश गरेका थिए । उनले ‘विधानको मृत्यु’ नामक छोटो चलचित्र पनि निर्देशन गरेका छन् । आज उनको १३ औं स्मृतिसभा गरिदैछ ।