गएको शनिबार लण्डनको नर्थहोल्टस्थित आफू बस्दै आएको घरको बाथरुममा झण्डिएको अबस्थामा मृत फेला परेका चर्चित नेपाली र्याप गायक यमबुद्ध (अनिल अधिकारी) को पोस्टमार्टम रिपोर्ट बाहिर आएको छ । पोस्टमार्टम रिपोर्टमा अरुले शंका गरे अनुसार शरीरमा लागुऔषधजन्य पदार्थ नभेटिएको पारिवारिक स्रोतले जानकारी दिएको छ । खबरका अनुसार, यमुबद्धको शरीरमा अल्कोहलको मात्रा भने भेटिएको छ । प्राप्त जानकारी बेलुकी उनले श्रीमतीसँग बसेर वाइन भने पिएका थिए । रिपोर्टमा बंगारा भाच्चिएको पाइएको पनि जनाइएको छ ।
पारिवारिक सदस्यका अनुसार, रोयल मेलको काम सकेपछि घर आएका थिए । त्यसपछि उनी खाना खाएर सुतेका थिए र राती तीन बजेतिर बाथरुम छिरेका थिए । बिहान ६ बजे घरकै अरु सदस्यले ढोका ढकढक गर्दा नखुलेपछि ढोका फोडिएको थियो र भित्र जाँदा उनी झुण्डिएको अवस्थामा भेटिएका थिए । यसैबीच, यमले आफ्नो पासपोर्ट च्यातेको पाइएको छ । उनले किन पासपोर्ट च्याते भन्ने चाँहि खुलेको छैन । हाल उनको शव नर्थवीक पार्क अस्पतालमा छ । उनका परिवारजनले शव नेपाल लैजान चाहिरहेका छन् । तर, कहिले ल्याउने वा नल्याउने भन्ने बारे आधिकारिक पुष्टी भने भइसकेको छैन् । उनका बाबू काठमाडौमा र आमा अष्ट्रेलियामा छिन् ।
को हुन् यमबुद्ध ?
सन् १९८७, ३० मे मा धनकुटा जिल्ला, लेगुवामा जन्मिएका यमबुद्ध यूवापूस्तामाझ निकै लोकप्रिय र्याप गायक हुन् । यमबुद्धका नामले चिनिएता पनि उनको वास्तविक नाम भने अनिल अधिकारी हो । २००७ देखी गायनमा सक्रिय यमबुद्धले सयौं र्याप गीतहरुसँग दर्जन बढी नेपाली चलचित्रका गीतहरुमा पनि आवाज मिसाइसकेका छन् । गीत लेखनमा पनि उतिक्कै सक्रिय यमुबद्धले गाएका यो प्रशंग, दिदी, फुटपाथ मेरो घर, तिमी मलाई, नरुनुँ तिमी, पागलपन लगायतका सयौं र्याप गीतहरु चर्चित छन् । उनलाई यूवापुस्ताका दर्शकहरुले नेपाली र्याप गायनका बादशाह भनेर चिन्ने गर्थे ।