
काठमाडौं । पूर्वोत्तर भारतको प्रवेशद्वार अनि पश्चिम बङ्गाल र सिक्किमका पहाडी बस्तीहरूको बिसौनी सिलिगुडीमा नेपथ्य ब्यान्ड पहिलोपटक प्रस्तुत हुन लागेको छ । नेपथ्यले आगामी शनिबार (फेब्रुअरी २८) त्यहाँ नेपाली लोकरक सुनाउने भएको छ ।
ब्यान्डका निम्ति सिलिगुडीको कन्सर्ट यो वर्ष (सन् २०२६) नेपाली सिमाना बाहिरको पहिलो प्रस्तुति पनि हुँदै छ । गत साता मुलुकका चार सहरमा शृङ्खलाबद्ध यात्रा गरेर फर्केको ब्यान्ड सिलिगुडी कन्सर्टको अन्तिम तयारीमा जुटिसकेको छ ।
नेपथ्यले यसअघि सिलिगुडी आसपासका सिक्किम र सिलोङमा आफूलाई उभ्याइसकेको छ । यस महानगरको उत्तरतर्फका पहाडी बस्तीमा नेपालीभाषी समुदायको ठूलो उपस्थिति छ । पछिल्लो समय भने सबैतिरबाट बसाइँ सरेर आएकाहरूको उल्लेख्य जनसङ्ख्याले यो बहुसांस्कृतिक सहर दिन प्रतिदिन व्यापक बन्दै गएको छ ।
नेपालकै पनि इलाम र झापाजस्ता सीमावर्ती जिल्लाहरूमा नेपथ्यको कन्सर्ट हुँदा भारतका दार्जिलिङ, कालिम्पोङ, मिरिक, सिक्किम, डुवर्स, जयगाउँ लगायतका भेगबाट उल्लेख्य सङ्ख्यामा दर्शक जुट्ने गरेका छन् । पछिल्लो समय त्यस्ता दर्शकमा सिलिगुडीको मात्रा बढ्दै गएको थियो । यसपाला भने सिलिगुडीको कन्सर्ट हेर्न ती भारतीय सहरबाट मात्र होइन, झापा र इलामदेखि समेत दर्शक उतातर्फ जाने अपेक्षा स्थानीय आयोजकले गरेका छन् ।
‘विशेषतः यो सिङ्गो भेगका नेपालीभाषीको उत्सवमय जमघट गराउने प्रयास हो,’ स्थानीय आयोजक ‘पोजिटिभ भाइब्स’ का विकेश कायस्थ भन्छन्, ‘टिकट बिक्री खुला हुनासाथ उत्साहजनक रूपमा सबैतिरका दर्शकले बुकिङ गर्न थालिसकेका छन् ।’ कायस्थका अनुसार कन्सर्टका लागि एक साता अवधि बाँकी रहँदै तीन हजार टिकट विक्री भइसकेको छ ।
साढे तीन दशकदेखि विश्वभर फैलिएका फरक–फरक नेपाली पुस्ताबीच लोकप्रियता आर्जन गर्दै आएको नेपथ्य शनिबार बेलुकी सिलिगुडीको ‘उत्सोधारा टिस्टा टाउनसिप’ को मैदानमा उभिनेछ । त्यहाँस्थित ‘कावाखाली ग्राउन्ड’ को पछिल्लो भागमा पर्ने आयोजनास्थलका ढोकाहरू बेलुकी साढे ५ बजे खुला गरिनेछन् भने त्यसको ठीक दुई घण्टापछि कन्सर्ट सुरु हुनेछ ।
‘भारतका नेपालीभाषी श्रोता–दर्शकले हामीलाई पहिले पनि उत्तिकै माया गर्दै आउनुभएको हो,’ ब्यान्डका मुख्य गायक अमृत गुरुङ भन्छन्, ‘यस पटकको प्रस्तुतिबाट त्यसलाई नयाँ उचाइमा लैजान आतुर छौँ ।’
अघिल्ला यात्रामा जस्तै सिलिगुडीमा पनि नेपालबाट ब्यान्डका सदस्यसहित प्राविधिक एवं व्यवस्थापन गरेर ठूलो समूह भारततर्फ प्रस्थान गर्दैछ ।मञ्चमा भने अमृतलाई सदाझैँ ड्रमसेटमा ध्रुव लामा, बेस गितारमा सुबिन शाक्य, गितारमा नीरज गुरुङ, मादलमा शान्ति रायमाझी र किबोर्डमा दिनेशराज रेग्मीले सघाउनेछन् ।




