बर्ष २०७३ को सर्वाधिक कलेक्शनको रेकर्ड राखेको फिल्म ‘छक्का पञ्जा’को सिक्वेल ‘छक्का पञ्जा २’ बिहिबारबाट फ्लोरमा गएको छ । भक्तपुरको सुर्यविनायक मन्दिरमा पुजा आजा गर्दै निर्माण टिमले छायांकन सुरु गर्यो । मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यले क्ल्याप ठोकेपछि फिल्मको मुहर्त भयो ।
फिल्मलाई दीपाश्री निरौलाले निर्देशन गर्दैछिन् । पहिलो संस्करणको निर्देशक पनि दीपा नै हुन् । दिपकराज गिरी, प्रियंका कार्की, केदार घिमिरे, स्वस्तिमा खड्का, जितु नेपाल, किरण केसी, निश्चल बस्नेत, स्वरुपपुरुष ढकाल लगायत लिड अभिनयमा हुनेछन् ।
दशैंको छेकोमा असोज महिनामा फिल्म रिलिज गरिनेछ । दिर्घ गुरुङले फिल्म खिच्दैछन् । पहिलो संस्करणको फिल्म पुरुषोत्तम प्रधानले खिचेका थिए । उता दीपक दीपा समावेश यो टिमबाट यसअघि बनेका सबै फिल्ममा निर्माता तथा कलाकारको रुपमा जोडिएका निर्मल शर्मा उर्फ ‘गैंडा’ पनि यो फिल्ममा जोडिएका छैनन् ।
यसैबीच आन्तरिक मदभेदका कारण ‘वडा नम्बर छ’ फिल्मको हिट गीत ‘सुर्के थैली’, र ‘छक्का पञ्जा’ फिल्मको ‘पुर्व पश्चिम रेल’ बोलको हिट गीत दिएका चर्चित संगीतकार राजनराज शिवाकोटी पनि नहुने पक्का भएको छ । उत्कृष्ट काम गरेका टिम भित्रका सदस्यहरु बाहिर रहनुले ‘छक्का पञ्जा २’ यसैपनि च्यालेन्जिङ बनिसकेको छ । फिल्ममा धुर्मुस र सुन्तली पनि जोडिने छैनन् ।