चलचित्र ‘समर लभ’ हर्ने दर्शकले थाइल्याण्ड घुम्ने अवसर पाउने भएका छन् । चलचित्र हेरेका दर्शकलाई निर्माण युनिटले लक्की ड्र मार्फत छनोट गरेर थाइल्याण्ड घुम्ने अवसर दिने भएको हो । दर्शकको टिकट नम्बरमा लक्की ड्र गरेर थाइल्याण्ड घुम्नको लागि छनोट गरिने बताइएको छ ।
थाइल्याण्ड घुम्ने अवसर त्यो दर्शकले पाउने छ, जसले समर लभ चलचित्रको गीत र ट्रेलरलाई आफ्नो फेसबुकमा शेयर गरेको छ । यदि चलचित्रको गीत र ट्रेलर शेयर गरेको नभए उक्त दर्शकले थाइल्याण्ड घुम्ने अवसर गुमाउने निर्माता इन्दु भण्डारीले बताइन् । ‘यदि उहाँले चलचित्रको गीत र ट्रेलर शेयर गर्नुभएको छैन् भने उहाँले त्यो अवसर गुमाउनु हुन्छ’, उनले थपिन्, ‘टिकट साथमा नभए पनि उहाँ अवसरबाट बन्चित हुनुहुन्छ ।’ उनका अनुसार छनोट भएको दर्शकले आफ्नो साथमा अर्को एक व्यक्तीलाई पनि लग्न पाउने छ ।
अहिले चलचित्र युनिट प्रचार प्रसाको लागि मोफसलमा छ । सोमबार चितवन महोत्सबमा उपस्थिती जनाएको चलचित्रको युनिट मंगलबार नेपालगञ्ज पुगेको छ । बिहिबार दाङ पुगेर चलचित्रको प्रचार गर्ने यस युनिट दाङपश्चात् बुटवल, हेटौडा, धरान, इटहरी, दमक, विर्तामोड हुँदै पोखरा पुग्नेछ । पोखरामा कार्यक्रम सकेपछि काठमाडौं फर्किएको युनिटले काठमाडौंको विभिन्न ठाउँमा चलचित्रको प्रचार गरिनेछ ।
सुविन भट्टराईको चर्चित उपन्यास समर लभमा आधारित रहेर निर्माण गरिएको यस चलचित्रलाई मुस्कान ढकालले निर्देशन गरेका छन् । सामिप्यराज तिमल्सेनाको पटकथा रहेको चलचित्रमा सामिप्य र सुविनको संवाद रहेको छ ।
माघ २५ गतेबाट प्रदर्शनमा आउने यस चलचित्रमा आशिष पिया, रेवती क्षेत्री, सुरजसिंह ठकुरी, नम्रता सापकोटा, सरोज खनाल, शिशिर भण्डारीको मुख्य भूमिका रहेको छ । खगेन्द्र श्रेष्ठ र इन्दु भण्डारीको लगानीमा तयार भएको चलचित्रमा विनोद अधिकारी कार्यकारी निर्माताको रुपमा रहेका छन् । चलचित्रलाई संजय लामाले खिचेका हुन् ।