‘होस्टेल रिटर्न्स’ डेब्यु नायक सुशील श्रेष्ठको मुख्य भुमिका रहेको फिल्म ‘लभ डायरिज’को फर्स्टलूक पोस्टर सार्वजनिक गरिएको छ। रिलिज मिति तय गर्दै फिल्मको पोस्टर सार्वजनिक गरिएको हो। फिल्मले असोज ३ गतेलाई रिलिज मिति पक्का गरेको छ।
पोस्टरमा अभिनेत्री रुबीना थापासँग सुशील रोमान्टिक अवतारमा देखिएका छन्। रुबीनाले यसै फिल्मबाट डेब्यु गर्दैछिन्।
सौरभ चौधरीको निर्देशनमा निर्माण भएको फिल्ममा अर्जुनजंग शाही, विशाल पहारीको पनि अभिनय रहेको छ। फिल्मका एसोसिएट निर्देशक शाहिल खान हुन्।
फिल्ममा सुशीलले विदेशी मोजमस्तीमा रमाएको युवकको भूमिका निर्वाह गरेको बताइन्छ। युवा–युवती बिचको प्रेम तथा कमेडीलाई प्रस्तुत गरिएको फिल्म मनोरन्जनात्मकसँगै सन्देशमुलक रहेको निर्माण पक्षले बताएको छ।
विनोद सापकोटाले निर्माण गरेको फिल्ममा संजय लामाको छायांकन तथा मिलन श्रेष्ठको सम्पादक रहेको छ। अर्जुन पोखरेलको संगीतमा तयार भएको गीतमा कविराज गहतराजको करियोग्राफी रहेको छ।