गत शुक्रबारबाट चलचित्र ‘छ माया छपक्कै’ रिलिज भएको छ । सुरुवाती दिनदेखि नै चलचित्रले दर्शकको निकै उत्साहजनक साथ पाइरहेको छ । व्यापारिक रुपमा सफल यस चलचित्र समिक्षात्मक रुपमा सफल भएको छ ।
शनिबार दर्शक साक्षत्कारको लागि हलसम्म पुगेका निर्माण टिमले आफ्नो चलचित्रले मायाको रेकर्ड राखेको बताएका छन् । हलमा पुगेका दिपकराज गिरीले भने, ‘छ माया छपक्कैले पैसाको रेकर्डसँग मतलब गरेन । यस चलचित्रले मायाको रेकर्ड राखेको छ ।’ उनले यस चलचित्रको व्यापार ‘छक्का पञ्जा ३’ को भन्दा राम्रो भएको बताएका छन् ।
त्यस्तै एड्भाइजर निर्देशकको रुपमा काम गरेकी दीपाश्री निरौलाले दर्शकको मायाबाट आफू निकै खुसी भएको बताउँछिन् । उनले भनिन्, ‘दिपक-दिपाको छक्का पञ्जा नाम गरेको बाहेक अरु चलचित्र चल्दैन भन्ने प्रतिक्रिया आइरहेको थियो, त्यसलाई चिर्न सफल भएका छौ ।’
दिपेन्द्र लामाको कथा तथा निर्देशनमा बनेको यस चलचित्रमा दिपकराज गिरीसँगै केदार घिमिरे, जितु नेपाल, केकी अधिकारी, सुपुष्पा भट्ट, प्रकाश घिमिरे लगायतको मुख्य भूमिका रहेको छ ।