अमेरिकाको कोलोराडोको डेनभर सहरमा आगामी कात्तिक २७ गते अर्थात् नोभेम्बर १२ तारिखका दिन हुन लागेको ‘ग्लोवल नेपाली फिल्म अवार्ड’ को विषयमा वुधबार काठमाडौंमा एक पत्रकार सम्मेलनको आयोजना गर्दै जानकारी दिएको छ ।
बिआरटी नेपाल डटकम, अमेरिका नेपाल टेलिभिजन र नेपाल फिल्म सोसाईटीको संयुक्त आयोजनामा हुन लागेको ग्लोवल नेपाली फिल्म अवार्ड अमेरिकामा पहिलो पटक हुन लागेको फिल्म अवार्ड हो ।
पत्रकार सम्मेलनमा बोल्दै नेपाल फिल्म सोसाईटीका अध्यक्ष कृष्ण मल्लले अमेरिकामा पहिलो पटक हुन लागेको अवार्डले नेपाली चलचित्रलाई अन्तर्राष्ट्रिय क्षेत्रमा पुर्याउन मद्दत पुग्नुका साथै कलाकार र दर्शक बिचको सम्बन्ध पनि राम्रो हुने बताए । उनका अनुसार अवार्डमा सहभागी हुन झण्डै एक दर्जन बढी नेपाली कलाकारहरु अमेरिका उड्दैछन् । त्यस्तै अवार्डलाई शुभकामना दिन पत्रकार सम्मेलनमा उपस्थित चलचित्र विकास बोर्डका अध्यक्ष राजकुमार राईले भने -‘जहाँ नेपालीहरुको आर्कषण छ, त्यहाँ जाँदा, गरिँदा, त्यहाँ कुनै पनि क्रियाकलापहरु हुँदा खेरी मानव बेचबिखन गर्ने कुरा सबैभन्दा अगाडी आउँछ । आयोजक संस्था नेपाल फिल्म सोसाईटीले अमेरिका जाँदा को-को कलाकारहरु जाने हो उहाँहरुलाई पत्रकारको अगाडी राखेर लैजान्छौ भनिएको छ यो एउटा सवल पक्ष हो ।’
त्यस्तै उनले कोलोराडोमा नेपाली चलचित्रहरु सिडी/डि.भि.डिमा गैर कानुनी रुपमा विक्री भइरहेको अबस्थामा त्यसलाई रोक्न नेपालबाट गएको चलचित्रकर्मीहरुको टोलीले पहल गर्न पनि आग्रह गरेका छन् ।
पत्रकार सम्मेलनमा नायक शिव श्रेष्ठ, भुवन केसी, कलाकारहरू बसुन्धरा भुषाल, मदनदास श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो ।