नेपाली नयाँ बर्ष होस् वा अंग्रजी नयाँ बर्ष, नेपाली हलहरुमा ठूला भनिएका नेपाली चलचित्रहरु रिलिज भइरहेका हुन्थे । यो समयमा मानिसहरु छुट्टी मनाउनका लागि विभिन्न ठाउँहरुको भ्रमण मात्र होइन हलमा गएर सिनेमा हेर्न पनि मन पराउँछन् तर यस पटकको अंग्रेजी नयाँ बर्षमा भने नेपाली हलमा ठूला भनिएका कुनै पनि नेपाली चलचित्र प्रदर्शनमा आएनन् । यसले गर्दा बलीउडस्टार आमिर खान अभिनित चलचित्र ‘दंगल’ लाई ठूलै राहत मिल्यो ।
अहिले नेपालका मल्टिप्लेक्सहरुमा आमिर खान अभिनित चलचित्र ‘दंगल’ ले नै राज गरिरहेको छ भने सिंगल हलहरु सुनसान देखिएका छन् । गएको शुक्रबार तीन नेपाली चलचित्र (समर्पण, चक्र, यू टर्न) प्रदर्शनमा नआएका होइनन् तर यी चलचित्र हेर्न दर्शकहरुले खल्तीको पैसा रित्याउन चाहेनन् । सिंगल हल लक्षित यी तीन चलचित्र तीन दिन पनि सिंगल हलमा टिक्न नसक्दा अहिले हल सञ्चालकहरु पुराना नेपाली चलचित्र चलाउन बाध्य छन् । तर, नेपालका मल्टिप्लेक्सहरुमा भने ‘दंगल’ ले सोचे जस्तै दर्शक पाइरहेको छ । भोली शुक्रबार पनि ठूला भनिएका नेपाली चलचित्र प्रदर्शनमा नआउने भएका कारण मल्टिप्लेक्समा ‘दंगल’ कै राज हुने छ भने सिंगल हलहरु सुनसान रहने पक्का छ ।
किन आमिर खानको चलचित्रसँग आफ्नो चलचित्र प्रदर्शन गर्न डराए त नेपाली निर्माताहरु ? यो त सबैलाई थाहा छ कि बलीउडका तीन खान (सलमान खान, शाहरुख खान र आमिर खान) का चलचित्रहरु प्रदर्शनमा आउँदा नेपालका निर्माताहरु आफ्नो चलचित्र रिलिज गर्न डराउँछन् किनकी बलीउडका तीन खानको चलचित्रको अगाडी नेपाली चलचित्र प्राय सधै चेपुवामा पर्दै आइरहेका छन् । यसैले पनि निर्माताहरु सकभर बलीउडका तीन खानका चलचित्रसँग आफ्नो चलचित्र जुधाउन चाहन्नन् । उनीहरुका चलचित्रसँग आफ्नो चलचित्र जुधाउन मात्रै होइन झण्डै २ हप्तासम्म त नेपाली हलमा ठूला र प्रतिक्षित भनिएका कुनै पनि नेपाली चलचित्र प्रदर्शनमा समेत आउँदैनन् । जसले गर्दा नेपाली बजारबाट बलीउडका तीन खानले प्रत्येक बर्ष बोराका बोरा पैसा लगिरहेका छन् ।
जस कारण पनि हो यस पटकको अंग्रेजी नयाँ बर्षमा आमिर खानको ‘दंगलले’ नेपाली बजारमा धुम नै मच्चाइरहेको छ । कुनै ठूला बजेटका नेपाली चलचित्र प्रदर्शनमा नआउनुले पनि यति बेला ‘दंगल’ लाई मैदान खाली छ । प्राय शुक्रबार दुई भन्दा बढी चलचित्र रिलिज हुने नेपाली बजारमा आमिर खान अभिनित चलचित्र दंगल लाग्दा भने लगभग सुनसान देखिए । तर, पुष २८ गते भने ३ ठूला ब्यानरका प्रतिक्षित मानिएका नेपाली चलचित्र प्रदर्शनमा आउँदैछन् । तबसम्म भने नेपाली बजारमा आमिरकै दबदबा रहने पक्का छ ।