माघे संक्रान्तिलाई लक्षित गर्दै आज बिहिबारबाट देशव्यापी प्रदर्शनमा तीन नेपाली चलचित्र एकसाथ मैदानमा उत्रिएका छन् । शुक्रबार प्रदर्शन हुनु पर्ने परम्परा तोड्दै चलचित्र ‘किङ्ग’, ‘शब्द’ र ‘लभ साशा’ ले आज बिहिबारबाट प्रदर्शन आरम्भ गरेका हुन । निखिल उप्रेती, वेनिशा हमाल, अनुप विक्रम शाही, प्रज्वल सुरज गिरी लगायतका कलाकारहरुको अभिनय रहेको चलचित्र ‘किङ्ग’ लाई सविर श्रेष्ठले निर्देशन गेका हुन भने जयन श्रेष्ठले निर्माण गरेका हुन । काठमाडौं, लुम्बिनी तथा नगरकोट लगायतका दृश्य समावेश चलचित्रमा रोशन श्रेष्ठको द्वन्द्व निर्देशन छ भने दिनेश सुनाम र वसन्त सापकोटाको संगीत छ । चलचित्रमा सिनेमाटोग्राफी सञ्जय लामाको छ ।
त्यस्तै अर्को चलचित्र ‘शब्द’ मा नायक सौगात मल्ल र कमली वाईवाको मुख्य भूमिका रहेको छ । सन्तोष शिवाकोटी निर्देशित चलचित्रमा विष्णुकुमार थेबे र छिरिङ लामाको लगानी छ । चलचित्रलाई सन्तोष शिवाकोटीले निर्देशन गरेका हुन ।
त्यस्तै यी दुई नेपाली चलचित्रसँग प्रदर्शनमा आएको अर्को चलचित्र ‘लभ साशा’ मा नायिका केकी अधिकारी र नायक कर्मा शाक्यको मुख्य भूमिका छ भने चलचित्रलाई प्रचण्डमान श्रेष्ठले निर्देशन गरेका हुन । ‘साशा’ नामकी केकी र ‘पर्ल’ नामका कर्माको भगाईको यात्रालाई चलचित्रमा देखाइएको छ । पपकर्न पिक्चर्सद्धारा प्रस्तुत र प्रिन्सेस मुभिज र द।टि फोक्स फिल्मसको निर्माण रहेको चलचित्र ‘लभ साशा’ लाई माधव वाग्लेलले निर्माण गरेका हुन । चलचित्र ‘लभ साशा’ मित्रता, प्रेम, दया, स्नेह र जीवन दर्शनजस्ता विभिन्न भोगाईहरुको मिश्रण रहेको निर्माणपक्षले बताएको छ । शिवराम श्रेष्ठको छायाँकन रहेको चलचित्र लभ साशामा लोकेश बज्राचार्यको सम्पादन छ । सिंगल हलका बादशाह मानिने निखिल र मल्टिप्लेक्स अनुहार केकी, कर्मा र सौगातको भिडन्त यो हप्ता हेर्न लायककै हुने देखिन्छ । तीन चलचित्र फरक फरक कथावस्तुमा तयार भएपनि यस बर्षको माघे संक्रान्ति कसका लागि स्वादिष्ट हुने हो त्यो भने केही दिनमा नै थाहा हुनेछ ।