‘पिँजडा’ चलचित्रबाट नेपाली रजतपटमा भित्रिएका नायक निखिल उप्रेतीले अहिलेसम्म २ सय भन्दा बढी नेपाली सिनेमामा काम गरिसकेका छन् । प्राय अधिकांश एक्शन चलचित्रमा देखिएका नायक निखिल उप्रेतीले जति चलचित्रमा काम गरे त्यसमा उनको जोडी एक नायिकासँग बाँधिएकै छ । नायिका रेखा थापादेखी अहिलेकी चर्चित नायिका प्रियंका कार्कीसम्म उनले काम गरिसकेका छन् । तर, उनलाई हिरोइनसँग रोमान्स गर्न भने निकै लाज लाग्छ रे । यो कुरा आइतबार चलचित्र ‘पिँजडा ब्याक अगेन’ को निर्माण घोषणा कार्यक्रममा निखिल स्वयमले बताए । उनले डेब्यू चलचित्र ‘पिँजडा’ गर्नुभन्दा अगाडी आफुलाई हिरोइनसँग रोमान्स गर्न निकै लाज लाग्ने गरेको बताउँदै अगाडी भने, ‘अहिले पनि हिरोइनसँग रोमान्टिक सीन गर्दा निकै अफ्ठ्यारो लाग्छ । बहुत लाज लाग्छ ।’
आफ्नो डेब्यू चलचित्र ‘पिँजडा’ निर्माण भएको झण्डै २ दशकपछि यसैको दोस्रो भागमा काम गर्न लागेका नायक उप्रेतीले यो चलचित्रमा नायिका नव-सारा सिर्पालीसँग रोमान्स गर्दैछन् । यसअघि निखिलकै होम प्रोडक्शनमा तयार भएको चलचित्र रुद्रबाट साराले नेपाली रजतपटमा पाइला टेकेकी थिइन । चलचित्र ‘पिँजडा ब्याक अगेन’ लाई द्धन्द्ध निर्देशक हिमाल केसीले निर्देशन गर्दैछन् ।