हाल छायाँकनरत कमेडी चलचित्र ‘मेरो पैसा खोई ?’ को ७५ प्रतिशत छायाँकन सकिएको छ । भारतीय निर्देशक विवेक शर्माले १५ दिन खिचेको सबै फुटेज डिलिट गरेर फरार भएपछि पुनः सुट गरिएको यो चलचित्रमा बर्षा राउत, सौगात मल्ल, छुल्ठिम गुरुङ, सागर तिवारी, सम्पन्न श्रेष्ठ, कमलमणी नेपाल, बुद्धी तामाङ, प्रमोद अग्रहरी र रविन तामाङ लगायतका कलाकारहरुको अभिनय रहेको छ । अहिले यो चलचित्रलाई विराज भट्ट स्टारर मूभी ‘जय परशुराम’ निर्देशन गरेका रोज राणाले निर्देशन गरिरहेका छन् भने यो चलचित्रमा उनी आफ्नै लगानी छ । उनका अनुसार, अबको दुई हप्तापछि चलचित्र ‘मेरो पैसा खोई ?’ को बाँकी छायाँकनका लागि सौगात र बर्षा मुस्ताङ प्रस्थान गर्नेछन् । मुस्ताङमा बर्षा र सौगातको लभ सिन र एक गीतको सुट हुने खबर प्राप्त भएको छ ।
यो चलचित्रलाई यसअघि विवेक शर्माले निर्देशन गर्ने फाइनल थियो र शर्माले करिब १५ दिनसम्म यो चलचित्रको निर्देशन पनि गरेका थिए । तर, १५ दिनसम्म खिचेको सबै फुटेज डिलिट गरेर भारत फरार भएपछि यो चलचित्रको निर्देशनको जिम्मेवारी रोजले सम्हालेका हुन् । विवेक शर्मा भारत भागेपछि यो चलचित्रको नाम ‘मेरो पैसा खोई ?’ नै राखिएपनि नयाँ कथावस्तुमा काम गरिएको हो । यो चलचित्रको कथा मौनता श्रेष्ठले लेखेका हुन । चन्द्र पन्तको द्धन्द्ध निर्देशन रहने यो चलचित्रमा बसन्त सापकोटाको संगीत रहेको छ ।