भन्ने गरिन्छ नायिकाहरुको आयू लामो हुँदैन फिल्म इन्डष्ट्रीमा । लगातार हिट चलचित्र दिएपनि जब एक चलचित्र फल्पको सूचीमा दर्ता हुन्छ तब लगभग एक नायिकाको आयू सकिन्छ । यो देखिँदै आएको कुरा पनि हो । अझ नेपाली चलचित्रमा काम गर्ने नायिकाहरुको आयू त झन निकै कम छ । एक फल्प चलचित्र आफ्नो नाममा कुनै नायिकाले दर्ता गराएकी छिन् भने उनको हातमा भोलीपल्ट नयाँ चलचित्र पर्ने संभावना निकै न्यून हुन्छ । नयाँ चलचित्र हात लागिहाले पनि न कथावस्तु दमदार हुन्छ न त कोठाभाडा तिर्ने पारिश्रमिक नै पाउँछन् ।
पछिल्लो समय नयाँ अनुहारहरुको आगमनले पनि नेपाली नायिकाहरुको आयू कम हुँदै गएको देख्न सकिन्छ । पुराना नायिकाहरु एकपछि अर्को गर्दै पलायन हुँदै गर्दा केही बर्षयता नेपाली चलचित्रमा भित्रिएका नायिकाहरुले अहिले नेपाली फिल्म इन्ड्रष्ट्रीमा राम्रो पकड जमाएका छन् । ती मध्येकी एक हुन्, साम्राज्ञी राज्यलक्ष्मी शाह । अहिले नेपाली सिनेवृतमा कुनै नेपाली नायिकाको बढी चर्चा हुन्छ भने ती हुन साम्राज्ञी । अनमोल केसी स्टारर चलचित्र ‘ड्रिम्स’ मा मुख्य भूमिका निर्वाहा गरेपछि साम्राज्ञीलाई अहिले चलचित्रको ओहिरो नै लाग्ने गरेको छ ।
अहिले उनलाई आफ्नो चलचित्रमा लिनका लागि नेपाली निर्माताहरुको लाइन हेर्ने हो भने नेपालका अन्य नायिकाहरु नै लोभिने गर्छन । मागसँगै पारिश्रमिक ६ लाखसम्म पुराएको चर्चा चलिरहेको बखत साम्राज्ञीले ‘ड्रिम्स’ पछि नायिका झरना थापाले निर्देशनमा डेब्यू गरेको चलचित्र ‘ए मेरो हजुर २’ मा काम गरिन् । जुन चलचित्र अर्को बर्षको भदौ १६ गतेबाट हलमा लाग्दैछ । ‘ड्रिम्स’ पछि साम्राज्ञी अभिनित कुनै चलचित्रको दर्शकहरुले प्रतिक्षा गरिरहेका छन् भने त्यो ‘ए मेरो हजुर २’ हो । यो चलचित्रको ‘कसम हो’ बोलको गीतले अहिले युटुबमा हंगामा मच्चाइरहेको छ ।
‘ए मेरो हजुर २’ रिलिज अगावै उनले अन्य दुई चलचित्रमा समेत काम गरिसकेकी छिन् भने एक नयाँ चलचित्रमा अनुबन्ध भैसकेकी छन् । ‘ए मेरो हजुर २’ पछि उनले चलचित्र ‘तिमीसँग’ मा काम गरिन्, जसको छायाँकन हालसालै सकिएको छ । त्यस्तै, शिल्पा पोख्रेल अभिनित चलचित्र ‘मंगलम’ मा उनले अतिथी भूमिकामा अभिनय गरिन् । चलचित्र ‘मंगलम’ अर्को बर्षको दशैमा रिलिज हुँदैछ भने ‘तिमीसँग’ को अहिलेसम्म रिलिज डेट फाइनल भैसकेको छैन ।
त्यस्तै, अब उनी चाँडै कारियोग्राफर रेनिशा वान्तवा राईको निर्देशनमा तयार हुने चलचित्र ‘इन्टु मिन्टु लण्डनमा’ काम गर्दैछिन् । उनले यो चलचित्र साइन गरिसकेकी छिन् । खबरका अनुसार, योसँगै उनले हाल केही चलचित्रको स्क्रिप्ट पनि हेरिरहेकी छिन् ।
गएको दुई हप्ता अगाडी यो खबर पनि बाहिरिएको थियो कि साम्राज्ञीलाई हास्यकलाकार दीपकराज गिरी र दीपाश्री निरौलाले चलचित्र ‘छक्का पन्जा फेरी’ का लागि अफर गरेका थिए तर उनले अस्वीकार गरेको बताइएको छ । यसले पनि के भन्छ भने साम्राज्ञीको व्यस्तता दिनदिनहुँ बढ्दै गएको छ । साम्राज्ञीले सायद यो सोच्ने मौका पनि पाएकी छैनन् होला कि आफु अभिनित कुनै एक चलचित्र फल्प भए आफ्नो करियर अहिले जस्तै व्यस्त रहला वा चौपट होला । तर, अब साम्राज्ञीले यतातिर ध्यान नदिए कुनै दिन यस्तो समाचार पनि नलाउला भन्न सकिन्न, ‘साम्राज्ञी घर गृहस्थीमै व्यस्त’ । यो भन्नुको अर्थ अब साम्राज्ञीले संख्या बढाउन चलचित्रमा आफुलाई व्यस्त बनाउने होइन स्तरीय चलचित्र कसरी दिन सकिन्छ भन्ने सोच्न थाल्नु पर्छ । नभए अहिले जुन क्रेज र स्टारडम छ त्यो एकदिन परालको आगो जस्तै झ्याप्पै नहोला भन्न सकिन्न् ।