गायक हेमन्त रानाले गायको ‘सुन साइली’ बोलको गीत मात्र होइन, भिडियो पनि हिट भयो । अब, ‘साइली’ नाममा फिल्म नै बन्ने भएको छ ।
काठमाण्डौमा औपचारिक कार्यक्रम आयोजना गर्दै गरिएको घोषणा कार्यक्रममा निर्देशक रामबाबु गुरुङले गीतको थीम अनुसार नै फिल्म बन्ने बताएका छन् । यो फिल्ममा गीतको भिडियोमा काम गरेका जोडी गौरव पहारि र मेनुका प्रधान नै मुख्य भूमिकामा रहनेछन् ।
फिल्ममा गायक हेमन्त राना, विशाल गुरुङ, अजु पोखरेल, मोहन थापाले लगानी गर्दैछन् । पूर्वी नेपालको धनकुटामा फिल्म खिचिनेछ । सम्पूर्ण फिल्म गाउँमा नै सकिने निर्देशक गुरुङले जानकारी दिए । माघको अन्तिम साताबाट यो फिल्म छायांकन सुरु गरिनेछ । अभिनेता गौरव पहारिले पनि गीत जस्तै फिल्म पनि उत्कृष्ट बनाउने बताएका छन् ।