फिल्म ‘समर लभ’ यहि माघ २५ बाट प्रदर्शनको तयार छ। रिलिज मिति दिन प्रतिदिन नजिकिँदा निर्माण टिम कलाकरको साथ लिएर प्रचार प्रसारलाई ब्यापक बनाउँदै छ। पश्चिम नेपालदेखि मोफसल यात्रा सुरु गरेको ‘समर लभ’ टिम पुर्बी नेपालसम्म पुगेको छ।
टिमले यतिबेला मोफसलका स्थानिय दर्शकसँग सिधा साक्षात, मिडिया भेटघाट तथा युवापुस्ता लक्षित गर्दै कलेज क्याम्पियन तिब्र बनाईरहेको छ। पश्चिम नेपालको नेपालगञ्जबाट मोफसल यात्रा सुरु गरेर दाङको तुलसिपुर र घोराही, बुटवल, चितवन, हेटौँडा, धरान, इटहरी, दमक, बिर्तामोडसम्म ‘समर लभ’ टिम पुग्यो। लिड कलाकार आशिष पिया र रेवती क्षेत्री सहितको टिम मंगलबार पोखरा केन्द्रित प्रचारको लागी पोखरा पुगेका छन्।
यो बीचमा फिल्ममा समावेश ‘हेरन बाँझो मनभरी’ बोलको गीतको जिङ्गल सार्वजनिक गरिएको छ। पुष्पन प्रधानको संगीत तथा सुमित विश्वकर्माको स्वर रहेको सार्वजनिक सांगितिक सामग्रीमा आशिष र रेवतीका रोमाञ्चक पलहरु समावेश छन्।
मुस्कान ढकाल निर्देशित फिल्मलाई खगेन्द्र श्रेष्ठ र इन्दु भण्डारीले निर्माण गरेका हुन् भने बिनोद अधिकारी कार्यकारी निर्माता रहँदा एकराज तामाङ लाईन प्रोड्यूसरमा छन् भने सोपन सरकार र मनोज बिक सह-निर्माता हुन्। फिल्ममा आशिष र रेवतीको साथमा नम्रता सापकोटा, सुरजसिंह ठकुरी, सरोज खनाल, शिशिर भण्डारी, कविता रेग्मी, ओमप्रतिक गुरुङ लगायतको अभिनय रहेको छ।
सुबिन भट्टराईको चर्चित कृति समर लभमा आधारित यो फिल्मको ट्रेलरसँगै यसअघि सार्वजनिक ‘साया’ बोलको गीतले उत्कृष्ट हाइप बनाइसकेको छ, सामाजिक सञ्जालमा लोकप्रियता बढ्दो हुँदा निर्माण टिम उत्साहित छ। उपन्यासलाई फिल्ममा ढाल्दा पटकथा भने सामिप्यराज तिमिल्सेनाले लेखेका छन् भने संवाद लेखनमा सामिप्यले सुबिनसँग साझेदारी गरेका छन्।