बुधबार राजधानीको कमलादी स्थित क्यूज सिनेमा हलमा आयोजित फिल्म ‘शुभ लभ’को पत्रकार भेटघाट कार्यक्रममा हलमा कर्मचारीबाट पत्रकारमाथी भएको दुर्व्यवहार प्रति चलचित्र पत्रकार संघ, नेपालले आपत्ति जनाएको छ।
बुधबार समाचार संकलनका लागि पुगेका पत्रकारमाथि दुव्र्यवहार हुन थालेपछि चलचित्र पत्रकार संघका सचिव समेत रहेका समिर बलामीले प्रतिवाद गरेका थिए। सो समयमा हलमा कार्यरत कर्मचारीले उनीमाथि हातपात गरेका थिए।
चलचित्र पत्रकार संघले जारी गरेको विज्ञप्तीमा उल्लेख गरिएको छ कि- ‘यस्तो ज्यादती भइसक्दासमेत कार्यक्रम आयोजक र सिनेमा हल मौन रहनु र गम्भिर चासो नदेखाउनुलाई संघले खेदजनक ठानेको छ। यसले समग्र चलचित्र पत्रकारलाई क्यूज सिनेमा हलमा आयोजना हुने र ‘शुभ लभ’ चलचित्रले गर्ने पत्रकार सम्मेलनमा सहभागी भएर रिपोर्टिङ गर्न असुरक्षित महशुश गराएको छ।’
साथै आगामी दिनमा क्यूज सिनेमा हल र ‘शुभ लभ’ले अब उप्रान्त गर्ने प्रेसमिटमा पत्रकारहरुको सुरक्षाको प्रत्याभुतिको ग्यारेन्टी गर्नेगरी दुबै पक्षबाट आधिकारिक धारणा नआउँदासम्म चलचित्र पत्रकार संघसँग सम्वद्ध सम्पुर्ण चलचित्र पत्रकारहरु सहभागि नहुने चेतावनी समेत दिएको छ।