अभिनेता सौगात मल्ल स्टारर फिल्म ‘मन्त्र’को टिजर सार्वजनिक गरिएको छ। शुक्रबार काठमाडौंमा एक कार्यक्रमको आयोजना गर्दै फिल्मको टिजर सार्वजनिक गरिएको हो।
सार्वजनिक टिजरमा हिमाली भेगको सुन्दर दृश्यहरु कैद गरिएको छ। टिजरमा फिल्मका मुख्य कलाकार सौगात मल्ल, बुद्धि तामाङ, दिया पुनलाई स्थान दिइएको छ। टिजरमा सौगात र दीयाको प्रेमकथालाई बढि स्थान दिइएको छ।
खिलबहादुर गुरुङ निर्देशित फिल्मले हिमाली प्रेम कथा बोल्छ। यस फिल्म मार्फत सौगात र दियाले पहिलो पटक स्क्रिन शेयर गरेका छन्। फिल्ममा नमिता घिसिङ, वीरबहादुर लामाको पनि मुख्य भूमिका रहेको छ।
मनोज राजभण्डारी निर्माता रहेको फिल्मको कार्यकारी निर्माता देवेन्द्र मानन्धर हुन्। फिल्ममा रविराज कार्की, सुरेश कार्की, वीरबहादुर लामा र सुभ श्रेष्ठ सह-निर्माताको रुपमा हरेका छन्।
साम्तेन भुटियाले लेखेको फिल्ममा शम्भुजित बास्कोटा र सन्तोष सुनारको संगीत, संजय लामाको छायांकन, मित्र डि गुरुङको सम्पादन रहेको छ।
फिल्ममा गोरखाको मनास्लु क्षेत्र आसपासको कथाबस्तुलाई आधार बनाइएको छ। मनास्लु क्षेत्रमा पहिलो पटक छायांकन गरिएको फिल्मका दृष्यहरुले दर्शकको मन जित्नेमा निर्माण टिम विश्वस्त रहेको छ।
फिल्म नयाँ बर्ष २०७७ को अवसरमा प्रदर्शन गर्ने निर्माण टिमको लक्ष्य रहेको छ। तर, नयाँ बर्षको कुन दिन प्रदर्शनमा आउने भन्ने गोप्य राखिएको छ।