
काठमाडौं । गत पौष ४ गतेबाट प्रदर्शनमा आएको फिल्म ‘झरीपछिको इन्द्रेणी’ले फिल्मका मिडिया संयोजक तथा चलचित्र पत्रकार संघका निवर्तमान अध्यक्ष दिनेश सिटौलाको सम्झनामा अक्षय कोष स्थापना गरेको छ । फिल्म प्रदर्शनको ५१ औं दिन पुगेको अवसरमा गत शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा फिल्मका निर्देशक अर्जुन घिमिरे ‘पाँडे’ले पत्रकारितामा स्वर्गीय सिटौलाले पुर्याएको योगदानलाई नभुल्न १० लाख रुपैंयाँ राशीको अक्षय कोषको घोषणा गरे ।
कार्यक्रममा उपस्थित अन्य कलाकार र दाताहरूले पनि सहयोग घोषणा गरेपछि कोषमा करिब २० लाख आसपास रकम जम्मा भएको छ । निर्देशक घिमिरेले पत्रकार सिटौलसँग करिब १७ वर्षको मित्रताको स्मरण गरेका थिए । कार्यक्रममा ‘दिनेश सिटौला स्मृति चलचित्र पुरस्कार’ स्थापना पनि गरिएको छ । यो कोषबाट हरेक वर्ष एक जना कला पत्रकारलाई पुरस्कृत गरिनेछ ।
कोष र पुरस्कारको संरक्षकमा निर्देशक अर्जुन घिमिरेसँगै अभियन्ता कुमार बेन र चलचित्र पत्रकार सङ्घका अध्यक्ष समिर बलामी संरक्षक छन् । पत्रकार सिटौलाको गत माघ १८ गते धापासीस्थित ग्राण्डी अस्पतालमा मस्तिष्कघात (ब्रेन ह्यामरेज) का कारण ४७ वर्षको उमेरमा निधन भएको थियो ।

