निर्देशक : दीपाश्री निरौला
कलाकारहरु : दीपकराज गिरी, प्रियंका कार्की, शिवहरी पौडेल, जितु नेपाल, बुद्धि तामाङ, केदार घिमिरे, वर्षा राउत, नम्रता सापकोटा आदी ।
निर्माता : निर्मल शर्मा, दीपकराज गिरी, दीपाश्री निरौला
कहानी
रेमिटान्सले धानेको देश हो नेपाल । नेपालका धेरै जसो यूवाहरु वैदेशिक रोजगारीको शिलशिलामा विभिन्न देशहरुमा छरिएर बसेका छन् । यही कथावस्तुमा आधारित फिल्म हो छक्का पन्जा । फिल्म ‘छक्का पन्जा’ गाँउका पाँच साथी भगवान (दीपकराज गिरी), अतित (शिवहरि पौडेल), बुद्धि (बुद्धि तामाङ), माग्ने (केदार घिमिरे), सरस्वती (जितु नेपाल) को जीवनमा आधारित छ । यि पाँच जना मध्ये भगवान उर्फ दीपकराज टोलीका नाइके हुन्छन् । दीपकराजलाई बिहे स्विकार हुँदैनन् । टोलीका अन्य चार जनालाई पनि भगवान विवाह नगर्न सल्लाह दिन्छन् । यसैबिच अतितलाई डिभी पर्छ। ४५ बर्षका अतितले आफुभन्दा २० बर्ष कान्छी बृन्दा (बर्षा राउत) सँग बिहे गर्छन । विवाह गरेको केही दिनमा नै उनी आफ्नी श्रीमतीलाई गाउँमा छोडेर अमेरिका लाग्छन् । अमेरिका जाँदै गर्दा उनले आफ्ना साथीहरुलाई श्रीमतीको हेरबिचार गर्नु भनेर आग्रह गर्छन । त्यसपछि अतितकी श्रीमतीसँग पल्कन्छन् भगवान उर्फ दीपकराज । यही बिच भगवानकी आमाले विवाह नगरे आत्महत्या गर्ने धम्की दिन्छिन् र दीपकराज विवाह गर्न तयार हुन्छन् ।
भगवानले बिहे गरेकी केटीलाई पिट्न पाउनुपर्ने सर्त राख्छन, त्यही सर्तका कारण कोही पनि यूवतीहरु उनीसँग विवाह गर्न मान्दैनन् । यही बिच चम्पा (प्रियंका कार्की) भगवानको सर्त मानेर बिहे गर्न राजी हन्छिन् । बिहेपछि दीपकराजको नराम्रा बानीहरु प्रियंकाले विस्तारै सुधार्दै जान्छिन् ।
एकदिन उनीहरु काठमाडौं घुम्न जाने सोच बनाउँछन् र काठमाडौंका लागि निस्किन्छन् । काठमाडौं जाँदै गर्दा बाटोमा दीपकराज गिरीको आँखामा धुलो पस्छ र उनी आफु चढेको बाइक रोकेर आँखाको फोहोर निकाल्न थाल्छन् । त्यही क्रममा उनको टाउकोमा कसैको हिर्काएको लठ्ठी बज्रन्छ । आखिर को हुन् ति व्यक्ति ? कतै दीपकराज गिरीलाई लठ्ठीले टाउकोमा बजार्ने प्रियंका त होइनन् ? त्यो थाहा पाउन भने हलसम्म नै जानु पर्छ । फिल्ममा आर्यन सिग्देलको इन्ट्रीले एक पटक तपाईहरुलाई पनि आश्चर्यमा पार्न सक्छ । छोटो भुमिका भएपनि आर्यनको इन्ट्री दमदार देखिएको छ ।
निर्देशन
हास्य विधामा निकै जमेकी दीपाश्री निरौलाले निर्देशन गरेको पहिलो फिल्म हो ‘छक्का पन्जा’ । दीपाश्री निरौलाको निर्देशकिय डेब्यू फिल्म छक्का पन्जा दर्शकका लागि पूर्णरूपमा मनोरञ्जनको पोको बनेर आएको छ। अहिले नेपाली समाजमा घटिरहेको घटनालाई जसरी दीपाश्रीले टपक्क टिपेर बुनेकी छिन्, त्यसले दर्शकहरुलाई पूर्ण मनोरञ्जन दिएको छ । फिल्म हेरिरहँदा दर्शकहरुले पेट मिचिमिचि हाँस्छन् । फिल्मको संवादले दर्शकलाई हाँसोबाट केही छिन् पनि पर राख्न सक्दैनन् ।
कलाकारहरुको अभिनय
फिल्म ‘छक्का पन्जा’मा अभिनय गरेका कलाकारहरुले आफ्नो भुमिकालाई न्यायपूर्वक निर्वाह गरेका छन् । फिल्ममा अभिनय गरेका दीपकराज गिरी, प्रियंका कार्की, शिवहरी पौडेल, जितु नेपाल, बुद्धि तामाङ, केदार घिमिरे, वर्षा राउत, नम्रता सापकोटाको अभिनयलाई खोट दिने ठाउँ छैन ।
संगीत
फिल्म ‘छक्का पन्जा’मा दुई गीत छन् । ‘सुनन् चम्पा’ र ‘पूर्व पश्चिम रेल’ बोलको गीत फिल्मको कथावस्तु अनुसार नै प्रयोग गरिएको छ । राजनराज सिवाकोटी र दीपक शर्माले फिल्मका गीतमा संगीत भरेका हुन् ।
हेर्ने की नहर्ने
‘छक्का पन्जा’ एउटा पूर्ण मनोरञ्जनात्मक फिल्म बनेको छ । यदी तपाईहरु राम्रो फिल्म हेर्ने सोच बनाइराख्नु भएको छ भने ‘छक्का पन्जा’ उचित निर्णय हुन सक्छ । यो फिल्मले दर्शकको मनोरञ्जनको मागलाई पूरा गर्छ।