यस बर्ष नायक निखिल उप्रेती अभिनित कुनै पनि चलचित्र प्रदर्शनमा आएनन् । गएको बर्ष प्रदर्शनमा आएको चलचित्र ‘लुटेरा’ पछि निखिल उप्रेती अभिनित यस बर्षका लागि पहिलो चलचित्र ‘किङ्ग’ अहिले नेपाली हलहरुमा प्रदर्शन भइरहेको छ । सिंगल हलका बादशाह मानिने नायक निखिल उप्रेती अभिनित चलचित्र ‘किङ्ग’ हिजो शनिबार देशभरका हाउसफुल रहेको वितरकले बताएका छन् । शनिबार चलचित्र ‘किङ्ग’ हेर्नका लागि सिंगल हलहरुमा मात्र होइन मल्टिप्लेक्समा पनि दर्शकहरुको भिड गज्जबकै थियो । शुक्रबार सन्तोषजनक व्यापार गरेको चलचित्र ‘किङ्ग’ को शनिवार काठमाडौंमा ७५ प्रतिशत अकुपेन्सी थियो भने काठमाडौं बाहिर पनि राम्रो व्यापार रहेको छ । चलचित्र ‘किङ्ग’ हेर्नका लागि शनिबार राजधानीका गोपिकृष्ण, अष्टनारायण, गुण, कलंकी, सिद्धार्थ, बाराही लगायत हलहरुमा दर्शकको घुँइचो हेर्न लायककै थियो । शनिबार दर्शकसंगै बसेर चलचित्र हेर्न राजधानीका हल चाहारेका निखिल उप्रेती, अनुप विक्रम शाही, बेनिशा हमाल, प्रज्वल सुरज गिरी लगायतलाई दर्शकहरुले सेल्फी खिच्न भन्दै हैरान नै बनाए । अझ नायक निखिल उप्रेतीलाई त दर्शकहरुले काँधमा राखेर उचालेका समेत थिए ।
बिहिबार र शुक्रवार १५ लाखको व्यापार गरेको किङ्गले शनिवार पचास लाख ग्रस कलेक्शन भएको वितरक गोपाल कायस्थले जानकारी दिए । चलचित्र किङ्गका निर्देशन सविर श्रेष्ठले निखिलको क्रेज र अहिलेको किङ्गको प्रतिक्रियालाई लिएर निकै खुशी तथा उत्साहित भएको बताए ।
काठमाडौं, लुम्बिनी तथा नगरकोट लगायतका दृश्य समावेश चलचित्रमा रोशन श्रेष्ठको द्वन्द्व निर्देशन छ भने दिनेश सुनाम र वसन्त सापकोटाको संगीत छ । चलचित्रमा सिनेमाटोग्राफी सञ्जय लामाको छ । यो चलचित्रलाई जयन श्रेष्ठले निर्माण गरेका हुन ।
योसँगै प्रदर्शनमा आएको अर्का दुई चलचित्र ‘लभ साशा’ र ‘शब्द’ को पनि विजनेश सन्तोषजनक रहेको बताइएको छ ।