पुरुषवादी समाज, यहाँ अहिले पनि सन्तानको रुपमा छोरा भए मात्र पितृ तर्छन भन्ने सोच हटिसकेको छैन । छोरा नजन्माएकै कारण अहिले पनि बढी जसो तराई क्षेत्रमा दर्जन बढी महिलाहरुले दैनिक रुपमा नै श्रीमानको शोषण सहनदेखी समाजको अपहेलना सहन बाध्य छन् । अझ मधेशी समुदायमा त झन छोरा नजन्माएकै कारण महिलाहरुले घर नै छोड्नु पर्ने अबस्था छ । यो पीडाबाट सायद नेपालका कोही महिलाहरु पनि पछाडी परेका छैनन् । कुनै दिन यस्तै पीडामा थिइन नेपाल रुपन्देहीकी चर्चित डान्सर तेरिया मगरकी आमा अनिता मगर पनि । घरकी कान्छि छोरी हुन तेरिया । पहिलो सन्तान छोरी भएपछि तेरियाकी आमा दोस्रो सन्तानमा छोरा होस् भन्ने चाहन्थिन् तर जन्मिइन तेरिया । त्यति बेला उनी खुबै रोइन् । यो कुरा हालै तेरियाले ‘झलक दिखला जा’ को उपाधि चुम्नुभन्दा अगाडी कर्लस च्यानलले तयार पारेको एक रिपोर्टमा तेरियाकी आमाले भनेकी हुन । उनले भनेकी थिइन, ‘तेरियाकी एक दिदी पनि छिन् । म चाहन्थे कि दोस्रो सन्तान छोरा होस् तर तेरिया जन्मिइन । म त्यस खबर खुबै रोएँ । तर अहिले म छोरी तेरियाकै कारण संसारभर चिनिएकी छु । मलाई आज सबैले तेरियाकी आमा भनेर चिन्दा कम्ता खुसी लाग्दैन । जब तेरियाले डान्स इण्डिया डान्स (डिआइडी) लिटिल मास्टर्स-२०१४ को उपाधि जितिन् तबदेखी म विदेशका प्राय अधिकांश देशहरु घुमेकी छु । त्यसभन्दा अगाडी म गृहणी भएर घरको चुलोचौको मै व्यस्त थिएँ । मलाई अहिले छोरा नभएको दुख लाग्दैन किनकी छोराले पनि गर्न नसक्ने काम तेरियाले गरेर देखाएकी छिन् ।’
उनले यसो भन्दा शोका निर्णायक करण जोहर, फराह खान, ज्याकलिन फर्नान्डिज र गणेश हेज पनि भावुक बनेका थिए । शनिबार साँझ तेरिया मगरले भारतीय टेलिभिजन च्यानल कर्लसबाट प्रशारण हुँदै आएको ‘झलक दिखला जा’ सिजन ९ को पनि ट्रफी उचालेकी हुन । शनिबार साँझ नेपाली समय अनुसार १० : ४५ बाट कर्लस च्यानलमा सुरु भएको ग्राण्ड फिनालेमा बलीउडस्टार सलमान खानले ‘बिग बोस’ को घरमा ‘झलक दिखला जा’ विजेताको नाम घोषणा गरेका थिए । सलमानले नै तेरियालाई ‘झलक दिखला जा’ सिजन ९ को विजेता घोषणा गर्दै ट्रफी प्रदान गरे । तेरियाले ट्रफीसँगै नगद भारु। ३० लाख तथा रेनाल्ट डस्टर ब्राण्डको कार प्राप्त गरेकी छिन् ।