चर्चित र्याप गायक यमबुद्ध उर्फ अनिल अधिकारीको शव नेपाल ल्याइने भएको छ । माघ १ गते शनिबार लण्डनको नर्थहोल्टस्थित आफू बस्दै आएको घरको बाथरुममा झण्डिएको अबस्थामा मृत फेला परेका चर्चित नेपाली र्याप गायक यमबुद्धको शव शनिबार नेपाल ल्याइने भएको हो । परिवारले यमबुद्धको शव नेपाल ल्याउने इच्छा राखेपछि नेपाली दूतावास लन्डनले नेपाल लैजान आवश्यक ट्राभल डकुमेन्ट (रिप्याट्रीयसन लेटर) तयार पारेको थियो । उनको शव इत्तेहाद एयरबाट शनिबार दिउँसो ३ बजे काठमाडौं ल्याउने पारिवारिक स्रोतले जनाएको छ । नेपालको त्रिभुवन विमानस्थलबाट उनको शव श्रदाञ्जलीका लागि सिधै प्रज्ञा प्रतिष्ठानमा राखिने छ । ५ बजेसम्म प्रज्ञा प्रतिष्ठानमा राखिएपछि यमबुद्धको शवलाई सोही दिन साँझ पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने छ ।
‘मेरो जुत्तामा’, ‘साथी’, ‘आउँदै छु म’, ‘फुटपाथ मेरो घर’ लगायत एल्बम निकालिसकेका यमुबद्धले चाँडै ‘खतरा’ नामक एल्बम निकाल्ने तयारीमा थिए । हिजो मात्र एल्बमका निर्माताद्धय नास्टी र एलेक्सले ‘खतरा’ एल्बममा समोबश ‘ताज’ बोलको अडियो गीत युटयुवमा सार्वजनिक गरेका छन् । युवापुस्ताका दर्शक, स्रोता माझ लोकप्रिय यमबुद्धको जन्म धनकुटा जिल्लाको लेगुवामा सन् १९८७, ३० मे मा भएको थियो । २००७ देखी गायनमा सक्रिय यमबुद्धले सयौं र्याप गीतहरुसँग दर्जन बढी नेपाली चलचित्रका गीतहरुमा पनि आवाज मिसाइसकेका छन् । गीत लेखनमा पनि उतिक्कै सक्रिय यमुबद्धले गाएका यो प्रशंग, दिदी, फुटपाथ मेरो घर, तिमी मलाई, नरुनुँ तिमी, पागलपन लगायतका सयौं र्याप गीतहरु चर्चित छन् ।