हिरो हुनका लागि अनुहार र हाईट नै आबश्यक छ भन्ने निर्माताहरुको मानसिकता तोडेर चलचित्र ‘कागबेनी’ मार्फत नेपाली रजतपटमा भित्रिएका नायक सौगात मल्ललाई भर्सटायल एक्टरको रुपमा चिन्ने गरिन्छ । उनले जति चलचित्रमा अभिनय गरेका छन्, त्यहाँ दर्शकहरुले उनको फरक गेटअप र दमदार अभिनयलाई तारिफ गरेकै छन् । अभिनयमा निखारिएका सौगात मल्लले २०१२ सालमा प्रदर्शनमा आएको चलचित्र ‘लुट’ मा निर्वाहा गरेको ‘कालु काले’ ले त उनलाई करियर पछाडी फर्केर हेर्ने मौकै दिएन ।
अहिलेका नायिकाहरु आफ्नो अन्तर्वार्तामा नायक सौगात मल्लसँग रोमान्स गर्न मन लागेको बताउँदा पनि यो कुरा स्पष्ट हुन्छ कि सौगातको क्रेज अहिले नेपाली बजारमा लोभलाग्दो छ । तर, लगातार एकपछि अर्को चलचित्रमा अनुबन्धित भइरहँदा र हप्ता ननाध्दै उनका चलचित्र शहरका भित्ताहरुमा फेरिन थालेपछि अहिले उनका प्रशंसकहरुदेखी चलचित्रकर्मीहरु पनि कतै सौगातको स्टारडम गुम्दै त छैन ? भन्ने आशंका व्यक्त गरिरहेका छन् । अभिनय दमदार भएर मात्र पनि हुन्न चलचित्रको कथावस्तु दमदार भयो भने मात्र कलाकारको अभिनयको तारिफ हुन्छ भन्ने कुरा पछिल्लो समय सौगातले विर्सिएको दर्शकहरुको गुनासो छ ।
यस बर्ष उनी अभिनित चलचित्र ‘लुकामारी’ र गएको महिना अर्थात पुष २८ गते चलचित्र ‘शब्द’ प्रदर्शनमा आएको थियो । यी दुवै चलचित्रले पानी पनि भन्न नपाई हलबाट उत्रिए । हुनत, सौगातले आफु अभिनित चलचित्र कुन सफल भए भनेर सूची तयार पार्ने हो भने पनि ‘लुट’ र ‘कबड्डी कबड्डी’ बाहेक अन्य छैनन् । यसले के देखाउँछ भने सौगातले यी बाहेकका दर्जन बढी सिनेमामा आफ्नो दमदार अभिनय प्रस्तुत गरेपनि त्यसले चलचित्र सफल बनाउन मदद्त गरेनन् । एउटा कलाकारका लागि आफु अभिनित चलचित्र सफल हुन निकै आबश्यक पर्छ तर एकपछि अर्को चलचित्र असफल हुँदा पनि अहिलेको अबस्थामा भने सौगातलाई यसले करियरमा कुनै अप्ठ्यारो पारेको देखिन्न । लगातार उनी अभिनित चलचित्रहरु फल्प भएपनि उनलाई आफ्नो चलचित्रमा लिनका लागि निर्माताहरुको लाइनमा कमी आएको छैन । तर, यसरी नै सौगातले कमजोर कथावस्तु र राम्रो ब्यानर छानेर काम गर्न नसके अहिले बाँकी रहेको स्टारडम पनि गुम्नेमा दुई मत छैन ।
सौगातका लागि २०१२ मा आएको चलचित्र ‘लुट’ जसरी टर्निङ पोइन्ट भएर आयो त्यसरी नै फागुन १३ गते प्रदर्शनमा आउन लागेको ‘लुट २’ ले फेरी पनि आफ्नो स्थान जोगाउनेमा उनी ढुक्क छन् । यस्तै, सौगात अभिनित अर्को चलचित्र ‘डाइङ क्यान्डल’ यही मात्र २८ गतेबाट देशव्यापी प्रदर्शनमा आउँदैछ ।