प्रशान्त तामाङ, जसको नामै काफी छ । सन् २००७ मा भारतको सर्वाधिक लोकप्रिय रियालिटी शो ‘ईण्डियन आइडल’ को उपाधि जितेपछि उनलाई विश्वले चिन्यो । पहिलो पटक नेपाललाई प्रतिनिधित्व गर्दै ‘ईण्डियन आइडल’ को उपाधि जितेपछि उनी नेपाली गायन क्षेत्रमा सक्रिय रहे । प्रशान्त ईण्डियन आइडलको विजेता बन्नुभन्दा अगाडीदेखी नै भारतीय प्रहरीका जवान समेत थिए । तर, २०७१ सालमा उनलाई भारतीय प्रहरीले अनुशासन कारवाही गर्दै सेवाबाट बर्खास्त गरेको थियो । दार्जीलिङको तुङ्सुङ भन्ने ठाउँमा जन्मिएका प्रशान्तले दुई दर्जन बढी नेपाली गीतहरुमा आफ्नो आवाज भरेका छन् । उनले स्वर दिएका अधिकांश गीतहरु अहिले पनि उतिक्कै चर्चित छन् । गायनसँगै अभिनयमा समेत पोख्त प्रशान्तले ‘किन मायामा’, ‘धड्कन भित्र’, ‘अंगालो यो मायाको’, ‘गोर्खा पल्टन’, ‘निशानी’ र ‘परदेशी’ नामक चलचित्रमा मुख्य भूमिका निर्वाहा गरेका छन् । उनले अभिनय गरेका गोर्खा पल्टन र ‘परदेशी’ सर्वाधिक सफल चलचित्रको रुपमा हेरिन्छन् । तर, गएको बर्ष प्रदर्शनमा आएको चलचित्र ‘परदेशी’ पछि न उनले नेपाली चलचित्रमा काम गरेका छन् न त कुनै नेपाली गीतमा आफ्नो आवाज नै भरेका छन् । अहिले स-परिवारसहित दार्जीलिङमा बस्दै आएका प्रशान्त केही दिन अगाडी काठमाडौं आएका थिए । किन काठमाडौं आएका थिए र दुई दिन मात्र बसेर किन फेरी दार्जीलिङ फर्किए ? त्यो भने खुल्न आएको छैन । उनलाई नेपाल सरकारले सन् २०१० अक्टोबरमा नेपाल पर्यटन वर्ष २०११ को सदभावना राजदूतमा समेत नियुक्त गरेको थियो ।
अरे क्यानम, मन साइली, असारे महिनामा, रातो रानी फुलेझै, बिछोडको करौतीले लगायतका गीतहरुमा आफ्नो आवाज दिएर लाखौं प्रशंसकहरु कमाएका प्रशान्तको स्वर फेरी पनि नेपाली गीतहरुमा सुन्न दर्शकहरु आतुर छन् तर केही बर्षयता उनी भारतमा हुने विभिन्न साँस्कृतिक कार्यक्रमहरुमा नै आफुलाई व्यस्त बनाइरहेका छन् । चलचित्र ‘परदेशी’ पछि उनले अन्य कुनै नेपाली चलचित्रमा साइन नगर्नुले के प्रशान्त गायन र अभिनयबाट टाढा त रहन खोजेका होइनन् भन्ने प्रश्नहरु पनि राम्रै उब्जिएका छन् । अब यो त प्रशान्त बाहेक अरु कसले नै पो जबाफ दिन सक्छन् होला र !