सन् २०१७ बक्स अफिसमा ठूलो ठूलो भिडन्तको वर्ष बन्ने भएको छ । हालै मात्रै २५ जनवरीमा शाहरुख खान को फिल्म ‘रईस’ र ऋतिक रोशनको फिल्म ‘काबिल’को टक्कर सबैले राम्रैसँग देखेका थिए । अब यसै शिलशिलामा अन्य दुई ठूला स्टारहरुका फिल्म जुध्ने पक्का भएको छ । ती फिल्म हुन् बलिउडका महानायक अमिताभ बच्चनको ‘सरकार ३’ र यूवापुस्ताका चकलेटी नायक रणवीर कपुरको ‘जग्गा जासुस’ । दुवै फिल्मले आफ्नो रिलिज डेट अप्रिल ७ लाई तोकेका छन् । रामगोपाल बर्माको निर्देशनमा बनेको ‘सरकार ३’ पहिले मार्चमा रिलिज हुने भनिएको थियो तर बुधवार रामगोपालले ट्विट गरेर यो कन्फर्म गरेका छन् कि उनको फिल्म उनको बर्थ डे अप्रिल ७ मा रिलिज हुने छ । रिलिज डेट परिवर्तन गर्ने कारण रामगोपालले आफ्नो जन्मदिन बताएका छन् तर उनको लागि यो सजिलो निर्णय नहुनसक्छ । केही दिन अघि करण जौहरले भनेका थिए ‘रिलिज डेटलाई लिएर आम रुपमा फिल्म निर्माताहरुलाई धेरै पापड पेल्नु पर्ने अवस्था रहेको छ ।’ अप्रिल ७ मा रिलिज हुने यी दुई फिल्मको भिडन्तमा अमिताभले बाजी मार्ने हुन् कि रणवीरले त्यो भने हेर्न बाँकि नै छ ।