५ बर्षपछि नेपाली चलचित्रमा कमब्याक गरेका नायक विराज भट्ट अभिनित नेपाली चलचित्र ‘जय परशुराम’ यही शुक्रबारबाट देशव्यापी प्रदर्शनमा आउँदैछ । ५ बर्षसम्म भोजपुरी चलचित्रमा व्यस्त रहेका विराजलाई ५ बर्षपछि नै चलचित्र निर्माणमा उत्रिएका रोज राणाले नै कमब्याक गराएका हुन् । यो चलचित्रलाई पहिलो पटक रोज राणाले निर्देशन गरेका हुन् । बिहिबार पत्रकारहरुसँग संक्षित कुराकानी गर्दै निर्देशक रोज राणाले चलचित्र जय परशुराम एक्शन प्रधान रहेको बताए । उनले भने -‘चलचित्र जय परशुराम हेर्दा दर्शकहरुले मनोरञ्जनसँगै पैसाको सदुपयोग भएको महशुस गर्नेछन् । विराज भट्ट भएपछि चलचित्रमा एक्शन हुने त भयो नै त्यसमाथी मैले निर्माण र निर्देशन गरेको भनेपछि चलचित्र पूर्ण रुपमा एक्शन प्रधान छ ।’ उनले चलचित्र ‘जय परशुराम’ साउन २८ गते देशका अधिकांश हलहरुमा प्रदर्शन हुने जानकारी दिए । उनले फेरी थप्दै भने -‘हामीले चलचित्र निर्माण देखी कथा, मेकिङ्गमा निकै मेहेनत गरेका छौं । म ढुक्क छु कि दर्शकहरुले चलचित्र मन पराउनु हुन्छ ।’ यो चलचित्रमा विराज भट्ट, निशा अधिकारी लगायतका कलाकारहरुको अभिनय रहेको छ ।