कुनै समय नायक राजेश हमालको टाउको चलचित्रको कुनै एक प्रचार सामाग्रीमा राख्यो भने मात्र पनि चलचित्र सुपरहिट हुन्छ भन्ने गरिन्थ्यो । किनकी हमालको क्रेज नै यस्तो थियो कि उनको टाउको चलचित्रको प्रचार सामाग्रीमा राखे मात्र पनि सिनेमा हलहरुमा दर्शकहरुको भिड उर्लिने गर्थ्यो । तर, अहिले हमालको टाउको राखे दर्शकहरु नै हलसम्म जादैनन् कि भन्ने त्रास छ नेपाली निर्माताहरुलाई । यसलाई चलचित्र ‘रेस’ को पोष्टर र टीजरले पनि थप स्पष्ट पारेको छ । हालै सार्वजनिक भएको चलचित्र रेसको फस्र्टलुक पोष्टर र टीजरमा हमाललाई ठाउँ नै दिइएको छैन बरु उनको ठाउँमा नव-नायकलाई फोकश गरिएको छ । जबकी यो चलचित्रमा राजेश हमालको पनि मुख्य भूमिका रहेको छ । म्युजिकल टीजर र दुई पोष्टरमा चलचित्रका मुख्य कलाकार नायिका नीता ढुंगाना, पुष्पा लिम्बु र नव कलाकार बिशाल रेग्मीलाई फिचरिङ गरिएको छ । चलचित्र ‘रेस’ लाई निर्देशक किशोर शुब्बाले निर्देशन गरेका हुन् । चलचित्रमा मन्दील श्रेष्ठको सम्पादन र गोबिन्द राईको कोरियोग्राफि रहेको छ ।
नयाँ बर्षको छेकोमा रिलिज गर्ने तयारी भइरहेको यो चलचित्रमा आफ्नो गाउँ ठाउँबाट संघर्ष गर्दै आफ्नो करियर पुरा गर्न काठमाडौं छिरेका चार पात्रको कथालाई पर्दामा उतारिएको छ । चलचित्रमा पुष्पा लिम्बु, राजेश हमाल, निता ढुंगाना, किरण केसी, सुलेमान शंकर (इकु), रबिन्द्र खडकाका साथै नव प्रस्तुतिमा बिशाल रेग्मीको पनि मुख्य भूमिका रहेको छ । माता पाथिभरा फिल्म्सको ब्यानरमा तयार भएको यो चलचित्रमा किशोर शुब्बाको कथा र मौनता श्रेष्ठको पटकथा तथा सम्बाद रहेको छ ।