अहिले सबैको नजर फागुन १३ गते अडिएको छ, कारण चलचित्र ‘लुट २’ प्रदर्शनमा आउँदैछ । २०६९ सालमा प्रदर्शनमा आएको बल्कबष्टर चलचित्र ‘लुट’ को सिक्वेलको चर्चा यति बेला नेपाली बजारमा यसरी चुलिएको छ कि चलचित्र ‘लुट २’ ले नेपाली हलहरुमा हंगामा मच्चाउने पक्का छ । टीजर रिलिज भएपछि सुरु भएको ‘लुट २’ को चर्चा ‘ठमेल बजार’ बोलको गीत र ट्रेलरले झन उचाईमा पुराएको छ । यति बेला नेपाली सिनेवृतमा एउटै बहस चलिरहेको छ, ‘के छक्का पन्जाको रेकर्ड लुट २ ले तोड्ला ?’ यो त ‘लुट २’ हलमा लागेपछि नै थाहा हुनेछ । चलचित्र ‘छक्का पन्जा’ ले सय दिन मनाउँदा १६ करोडको व्यापार गरेको थियो र यो व्यापार तोड्नका लागि चलचित्र ‘लुट २’ ले १७ करोड माथीको विजनेश गर्नु पर्छ । तर, चलचित्रका निर्माता माधव वाग्ले ‘लुट २’ ले ‘छक्का पन्जा’ को रेकर्ड तोड्नेमा ढुक्क छन् त्यो पनि २१ दिनमा । बुधवार राजधानीमा पत्रकारहरुसँग कुरा गर्दै माधव वाग्लले युवापुस्ताका दर्शकहरु ‘लुट २’ हेर्न उर्लिए भने मात्र ‘छक्का पन्जा’ को रेकर्ड ‘लुट २’ ले २१ दिनमा तोड्ने दाबी गरे । उनले भने, ‘लुट आउँदा खेरी मलाई निकै डर र त्रास थियो । यस्तो विषय दर्शकहरुले मन पराउँछन् कि पराउँदैनन् भन्ने कुराले खुबै पिरोलेको थियो । तर, दर्शकहरुले ‘लुट’ लाई धेरै नै मन पराउनु भयो । ‘लुट’ नै एउटा ब्राण्ड भइसकेको छ । त्यसैले ‘लुट २’ आउँदै गर्दा भने मलाई कुनै डर छैन । म यो चलचित्रले एउटा ईतिहास बनाउँछ भन्नेमा ढुक्क छु ।’
‘छक्का पन्जाको हरेक रेकर्ड चलचित्र ‘लुट २’ ले तोडोस् भन्ने चाहेको छु । रेकर्ड बन्छ तोड्नका लागि । त्यसैले छक्का पन्जाको रेकर्ड तोड्ने प्रयासमा म दौडिरहेको छु ।’ उनले भने ।
उनले अगाडी थप्दै भने, ‘युवापुस्ताका दर्शकहरु ‘लुट २’ हेर्न हलमा पुगे भने मात्र म ‘छक्का पन्जा’ को रेकर्ड २१ दिनमा तोड्छु । २ घण्टा ८ मिनेट लामो ‘लुट २’ ले मानिसहरुलाई पुर्ण मनोरञ्जन दिन्छ, यदी दिएन र मन परेन भने म त्यसको क्षतीपूर्ती पनि दिन तयार छु ।’ त्यस्तै, चलचित्रका निर्देशक निश्चल बस्नेतले चलचित्र ‘लुट २’ लाई लिएर अहिले धेरै नै उत्साहित भइरहेको बताए । उनले भने. ‘लुट २ को सबै काम सकिसकेका छौ । त्यसैले पनि सोच्ने मौका धेरै पाएको छु । अहिले कतै जाँदा पनि सार्थी-भाई, दर्शकहरुले ‘लुट २’ राम्रो बनेको छ है दाई, म ढुक्क छु भन्नु हुन्छ । त्यसै तसाईदिने काम भईराख्या छ । बेला बेलामा म तर्सि पनि राखेको छु ।’
चलचित्र ‘लुट २’ मा समाबेश आइटम गीत ‘ठमेल बजार’ र हाल छायाँकनरत चलचित्र ‘पर्व’को आइटम गीत ‘काले दाई’ मा समेत कम्मर मर्काएका निश्चलले दुई चलचित्रमा मुख्य भूमिका र झण्डै आधा दर्जन चलचित्रमा केमियो समेत गरिसकेका छन् । बुधवार पत्रकारसँग कराकानी गर्दै गर्दा उनलाई यही प्रश्न तेर्सियो कि ‘पछिल्लो समय निर्देशन, आइटम डान्स र अभिनय पनि गरिराख्नु भएको छ । किन सबै तिर हात हालिराख्नु भएको छ ?’ अलि झट्टै निश्चलले उत्तर दिए -‘मैले अहिले धेरै ठाउँमा हात हालिराख्या छु । त्यो मलाई पनि महशुस हुन्छ । मात्र के हो भने गरेको काम राम्रो देखिएको छ कि छैन भन्ने कुरा चाहिँ महत्वपूर्ण हो । यहाँ कस्तो छ भने सबै चिनेका व्यक्तिहरु नै हुनुहुन्छ । ल है एउटा रोल छ गर्नु पर्छ भन्नु हुन्छ अनि गर्दिन भन्न पनि सकिदैन । र, गर्दिन भन्दा पनि यहाँ कोहि सुन्नेवाला पनि छैन । त्यसैले पनि यदी मेरो कारणले कसैलाई सहयोग मिल्छ भने मैले किन नगर्ने । त्यसबाट मलाई प्लस प्वाइन्ट पनि भइराखेको होला र नेगेटिभ पनि भइराखेको होला । गति छाडेर मानिसहरुले के काम गरेछ यसले भन्ने काम चाहिँ गर्दिन तर राम्रो काम निकाल्न सकिन्छ भन्ने लाग्यो भने गरिराख्दा पनि फरक पर्दैन जस्तो मलाई लाग्छ । तर अब चाहिँ फिल्टर भएको काम भने देख्न पाउनु हुन्छ ।’
पत्रकारहरुसँगको कुराकानीको क्रममा उनले चलचित्रका कलाकारहरु पव्लिसिटीमा नहिँड्दा पाउने दुखहरु पनि सुनाए । उनले भने, ‘कलाकारहरु चलचित्रको पव्लिसिटीमा हिँड्दा र नहिँदा धेरै नै फरक हुन्छ । जब कलाकारहरु चलचित्रको पव्लिसिटीमा हिँड्दैनन् तब चाहिँ जुन अनुसार चलचित्रले हाईप लिनु पर्ने हो त्यो लगभग ५० प्रतिशत नै घेटेर जान्छ । ‘लुट २’ लाई लिएर चाहिँ यो विषयमा अलि कम होला किनकी हेर्ने मान्छेहरुले पनि एक प्रकारको चासो राखेको र त्यो कलाकारहरुको भूमिका यस्तो छ भन्ने कुरा पहिला नै थाहा भएका कारण पनि पव्लिसिटीमा अलि सजिलो भएको छ । तर, कलाकार नै पव्लिसिटीमा नुहँदा गाह्रो चाहिँ गाह्रो नै हुन्छ ।’ एउटा रमाइलो चलचित्र हेर्नका लागि ‘लुट २’ हेर्नु पर्ने निश्चलको भनाई थियो ।
सौगात मल्ल, कर्म, दयाहाङ राई, ऋचा शर्मा, विपिन कार्की, कामेश्वर चौरसिया लगायतका कलाकारहरुको अभिनय रहेको चलचित्र ‘लुट २’ को कथा, पटकथा तथा निर्देशन निश्चल बस्नेतको हो । माधव वाग्ले र नरेन्द्र महर्जनको लगानीमा निर्माण भएको चलचित्र ‘लुट २’ मा पुरुषोत्तम प्रधानको छायाँकन, सुरेन्द्र पौडेलको सम्पादन, कालीप्रसाद बासकोटा, रोशन थापा, हर्कुलस बस्नेत र सुरज शाही ठकुरीको संगीत र राजकुमार उप्रेतीको द्धन्द्ध निर्देशन रहेको छ ।
निर्माणपक्षका अनुसार, हाकु कालेले बैंक लुटेर धोका दिएपछि नरे, गोफ्ले, पाण्डे र खत्री लगायतले कसरी हाकु कालेलाई दुख दिन्छन् भन्ने चलचित्र ‘लुट २’ मा देखाउन खोजिएको छ ।