नायिका रेखा थापा र गायिका कोमल वली अहिले पक्का राप्रपा नेतृ बन्ने दौडमा छन् । राप्रपा र राप्रपा नेपालको एकिकरणपछि गायिका कोमल वली र नायिका रेखा थापाले कमल थापाको हातबाट अविर र माला लगाउँदै पार्टी प्रवेश गरे । पार्टी प्रवेश गरेको केही दिन भित्रमा नै राप्रपा नेपालको केन्द्रीय बैठकले उनीहरु अरु पार्टीमा नभागुन भन्दै सिधै केन्द्रीय सदस्यमा मनोनिय गर्यो । तर, केन्द्रीय सदस्य बनेको महिना दिन नवित्दै उनीहरुले महासंग्राममा भाग लिनु परेको छ । किनकी आजबाट राजधानीमा राप्रपा नेपालको महाधिवेशन सुरु भएको छ । यसका लागि नायिका रेखा थापा र गायिका कोमल वलीले केन्द्रीय सदस्यमा आफ्नो उम्मेदवारी दिएका छन् ।
नेपाली सिनेजगतमा आफ्नो छुट्टै स्टारडम बनाएकी रेखालाई अब पार्टीका सदस्यहरुले चाहिँ कतिको पत्याउलान् त्यसको रिजल्ट कुर्न भने केही दिन पर्खनै पर्ला । तर, नेकपा माओवादी छोडेर राप्रपा नेपालमा प्रवेश गरेपछि रेखाको आलोचना खुबै भएको थियो । यो आलोचनाले रेखालाई केन्द्रीय सदस्य जित्न घातक सावित हुन्छ वा हुन्न यसको पनि अहिले राम्रै प्रतिक्षा भइरहेको छ ।
सयभन्दा बढी नेपाली चलचित्रमा आफ्नो दमदार अभिनय प्रस्तुत गरेकी रेखा पछिल्लो समय भने राप्रपा नेपालका प्रत्येक कार्यक्रमहरुमा पुगेर राजनीतिक भाषण दिइरहेकी छिन् भने विभिन्न जिल्लाहरुमा पुगेर पनि उनले आफुलाई अभिनेत्रीबाट नेतृको रुपमा परिचित गराइसकेकी छिन् । कुनै दिन सार्वजनिक कार्यक्रममा पुग्दा छोटो कपडामा पुग्ने रेखा राप्रपा नेतृ भएपछि भने साडीमा सजिएर नमस्कार ठोक्दै पुग्ने गरेकी छिन् । उनले पहिरनमा गरेको परिवर्तनले पनि रेखा अब राजनीतिमै जम्ने तयारीमा रहेको स्पष्ट झल्कन्छ ।
त्यस्तै, कहिले ‘पोइला जान पाम’ त कहिले भागवान शिवसँग ‘पोई लाग्ने लाष्टै चोटी हो’ भन्दै हंगामा गर्ने गायिका कोमल वलीले पनि राप्रपा नेपालको केन्द्रीय सदस्यमा आफ्नो उम्मेदवारी दिइसकेकी छिन् । यतिसम्मकी कोमलले त २० बर्ष लामो रेडियो नेपालको जागिर समेत छोडेर राप्रपा नेपालको केन्द्रीय सदस्य बन्न होमिएकी छिन् । अब यो त केही दिनमा नै थाहा हुनेछ कि रेखा र कोमल राप्रपा नेपालको केन्द्रीय सदस्य बन्लान वा मात्र राप्रपा नेपालको कार्यकर्तामै सिमित रहलान ।
तर, यति बेला एउटा बहसले नेपाली बजार राम्रै गर्माएको छ । त्यो हो, ‘रेखा र कोमल मध्ये राप्रपा नेपाल भित्र को शक्तिशाली होला र कसको होला पकड बलियो ?’ यो प्रश्नको जबाफ पनि अब राप्रपा नेपालको महाधिवेशन सकिएपछि मात्र स्पष्ट हुनेछ । कमल थापा निटक मानिने रेखा र कोमललाई केन्द्रीय सदस्यमा जिताउनका लागि अहिले अध्यक्ष कमल थापाले नै क्याम्पेनिङ गरिरहेको स्रोत बताउँछ ।