नेपाली चलचित्रका एक्सन नायक निखिल उप्रेतीको चर्चा हर बखत नेपाली सिनेवृतमा हुने गर्छ । झण्डै २ दशक लामो जवानी नेपाली चलचित्रमा विताइसकेका निखिलले यहाँसम्म आइपुग्नका लागि कयौ दुख र संघर्षका पहाड चढेका छन् । आज नेपाली चलचित्रमा एक्सन नायकको छवि बनाएका निखिल कुनै समय बलीउड चलचित्रमा स्टन्ट म्यान भएर काम गर्थे । त्यही क्रममा पवन मैनालीले आफ्नो चलचित्र ‘पिँजडा’ बाट डेब्यू गराएका हुन निखिललाई नेपाली रजतपटमा । ‘पिँजडा’ सफल भएपछि निखिलले आजको समयसम्म आफ्नो करियर पछाडी फर्किएर कहिले हेर्नु नै परेन । एकपछि अर्को सुपरहिट चलचित्र आफ्नो नाममा दर्ता गराइसकेका निखिलको चर्चा यति बेला बंगलादेशमा चुलिएको छ । बंगलादेशी चलचित्र खेल्न लागेको कारण उनको चर्चा चुलिएको भने पक्कै होइन । हालैमा बंगलादेशको ‘जमुना टिभी’ ले निखिलको विषयमा एक रिपोर्ट बनाएको छ । ३ मिनेट १५ सेकेण्ड लामो रिपोर्टमा निखिलले हिन्दी भाषामा अन्तर्वार्ता दिएका छन् र टिभीले त्यसलाई आफ्ना दर्शकहरुलाई देखाउनका लागि बंगलादेशी भाषामा डब गरेर प्रशारण गरेको छ ।
अन्तर्वार्ताको क्रममा निखिलले आफु हलीउडस्टार ज्याकी च्यानको फ्यान भएको खुलासा गरेका छन् । उनले भने, ‘म ज्याकी च्यानको फ्यान हुँ । म उहाँको एक्सनबाट प्रेरित छु । म उहाँलाई अनुशरण गर्ने गर्थे र त्यही क्रममा चलचित्रमा एक्सन सिन दिन सुरु गरेको हुँ ।’
एउटा टेक्निसियनलाई कुनै ग्रेडसँग मतलब नरहने बताउँदै निखिलले आफुलाई सधै कामसँग मात्र सम्बन्ध रहने पनि बताए । उनले ५ बर्षपछि नेपाली चलचित्रमा कमब्याक गर्दा धेरै च्यालेन्ज रहेको पनि अन्तर्वार्ताको क्रममा खुलाएका छन् । उनले अगाडी भने, ‘नेपाली चलचित्रमा कमब्याक गर्दै गर्दा धेरै चलचित्रबाट अफर आएका थिए तर मलाई लाग्यो कि किन मैले आफ्नै लगानीमा चलचित्र निर्माण नगर्ने र आफ्नै निर्देशन र निर्माणमा चलचित्र भैरव बनाएँ ।’ निखिलले आफु बंगाली भाषामा निर्माण हुने चलचित्रमा पनि काम गर्न तयार रहेको बताएका छन् । ‘बंगाली भाषा र हाम्रो भाषामा धेरै फरक छैन । यदी कोहिँ ज्वाइन भेन्चरमा काम गर्न चाहन्छ भने त्यो राम्रो रहन्छ । यदी कसैले नचाहे भविष्यमा हामी आफै पनि सोच्नेछौं ।’, उनले भने ।
निखिलको यस बर्षको चैत ११ गते ‘निर्भय’ र नयाँ बर्षको दिन ‘राधे’ चलचित्र हलमा लाग्दैछ ।